एजेन्सी। अमेरिकाको सिमाना नजिक मेक्सिकोमा कम्तिमा १९ व्यक्ति मृत भेटिएका छन्। उक्त क्षेत्र लागुऔषध ओसारपसारका लागि प्रयोग हुनेगरेको क्षेत्र भएको र त्यहाँ प्रायः झगडा हुनेगरेको तामाउलिपास राज्यका अभियोजनकर्ताहरूको कार्यालयले जनाएको छ।
प्रहरीले शनिबार कामार्गो शहर नजिकैको मेक्सिकोकोे सडकमा मानव अवशेष भएको दुई वटा गाडीहरू भेट्टाएको पुष्टि गरेको छ। पीडितलाई गोली लागेको थियो र त्यसपछि उनीहरूको शरीरलाई जलाएर राखेको हुनसक्ने प्रारम्भिक अनुसन्धानपछि प्रहरीले बताएको छ।
घटनास्थलमा कुनै गोलीका छर्रा नभेटिएको बताउँदै प्रहरीले पीडितहरू अर्कै ठाउँमा मारिएका हुनसक्ने बताएको छ। अभियोजनकर्ताहरूको कार्यालयले लासको परीक्षण चलिरहेको छ तर मृत शरीरकोे अवस्थाका कारण व्यक्तिको पहिचान जटिल हुनेछ,” अभियोजनकर्ताहरूको कार्यालयले जनाएको छ।
कामार्गो करिब १५ हजार व्यक्तिको बसोबास रहेको अमेरिकाको टेक्सास राज्यको सिमानामा पर्ने मेक्सिकोको न्युभो लियोन राज्यको नजिक रहेको एउटा बजार क्षेत्र हो। न्यूभो लिओनका अधिकारीहरूले आफूहरूले अनुसन्धानका लागि तामाउलिपास अभियोजनकर्तालाई सहयोग गरिरहेको बताएका छन्।