कोभिड विरुद्धको खोप सबै प्रदेशमा पठाइयो

काठमाडौं । सरकारले सातओटै प्रदेशमा कोरोना विरुद्धको खोप पठाएको छ । बुधवारदेखि देशभर एकसाथ खोप लगाउन शुरू गर्ने योजना अनुसार केन्द्र सरकारले प्रदेशमा खोप पठाएको हो ।

आइतवार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले बुधवार बिहान १० बजेदेखि ७७ ओटै जिल्लाका ३०० ओटा खोप केन्द्रमार्फत खोप अभियान शुरू गर्नेगरी प्रदेशमा खोप पठाइएको जानकारी दिए ।

नेपालले भारतबाट सहयोगस्वरूप गत बिहीवार १० लाख डोज खोप प्राप्त गरेको थियो । उक्त खोप भारतको सेरम इन्स्टिच्युटले अक्सफोर्ड–अस्त्राजेनेकासँगको सहकार्यमा उत्पादन गरेको हो । खोप माइनस २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण सकिनेछ । आइतवार केन्द्र सरकारले सबै प्रदेशका क्षेत्रीय मेडिकल स्टोरमा खोप पठाएकोमा प्रदेशले मंगलवारसम्ममा सबै जिल्लामा खोप वितरण गर्नेछ ।

अन्य सम्बन्धित समाचार:  मोटोपनले गर्दा चिन्तामा हुनुहुन्छ? मोटोपनको एउटै मात्र उपचार

देशभर पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप लगाइने मन्त्री त्रिपाठीले बताए । पहिलो चरणको खोप अभियान १० दिनसम्म चल्नेछ । पहिलो डोज लगाइएको २८ दिनपछि मात्र दोस्रो डोजको खोप लगाउन शुरू गरिने बताइएको छ ।

कोरोना नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापक र सुरक्षाकर्मीलाई पहिलो चरणमा खोप लगाउने तयारी सरकारको छ । कोरोना संक्रमित र कोरोना निको भएकाले खोप लगाउन सक्नेछन् ।