वीरगञ्ज सुक्खा बन्दरगाहमा अघोषित सिन्डिकेट

वीरगञ्ज । वीरगञ्ज सुक्खा बन्दरगाहमा ढुवानी व्यवसायीले अघोषित सिन्डिकेट शुरू गरेका छन् । सुक्खा बन्दरगाहबाट वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरसम्म कन्टेनर ढुवानीमा संलग्न व्यवसायीले अघोषित सिन्डिकेट थालेका हुन् ।

ढुवानी व्यवसायीले भाडा बढाएर आलोपालो अपनाएपछि कोरिडोरका उद्योगीले यसको विरोध गरेका छन् । व्यवसायीहरूले विगतको तुलनामा भाडा बढाएर आलोपालो प्रणाली थालेकाले ढुवानीको लागत बढेको वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपालले बताए ।

व्यवसायीले सुक्खा बन्दरगाहदेखि परवानीपुर, जितपुर र सिमराको पुरानो भाडादरमा ३ हजार ५ सय रुपैयाँका दरले वृद्धि गरेका छन् । यसअघि २० फिटको कन्टेनरमा २२ मेट्रिकटन  मालसामान परवानीपुरसम्म पु¥याएको भाडा ८ हजार रुपैयाँ थियो ।

जितपुरसम्मको १० हजार र सिमराको १२ हजार रुपैयाँ तोकिएको थियो । यो भाडा दरमा ३ हजार ५ सय रुपैयाँका दरले वृद्धि भएको छ ।
एक दर्जन व्यवसायीले नयाँ भाडादर तोकेर सूचना निकालेका छन् । भाडा बढाएर आलोपालो लगाएपछि माघ ५ गतेदेखि नयाँ भाडादरमा कन्टेनर ढुवानी भइरहेको छ ।

अन्य सम्बन्धित समाचार:  वर्षको अन्तिम दिन नेप्सेमा नयाँ रेकर्ड

सुक्खा बन्दरगाह भन्सारबाट कन्टेनर जाँचपास भएको भोलिपल्ट साँझ ५ बजेसम्म ट्रक खाली नभएमा प्रतिदिन २ हजार रुपैयाँका दरले डिटेन्सन लाग्ने पनि व्यवसायीको सूचनामा उल्लेख छ ।