उच्च अदालतमा तीनजना मुख्य न्यायाधीश नियुक्त

काठमाडाैं। अदालतमा तीन जना मुख्य न्यायाधीश नियुक्त तथा पदस्थापन भएका छन्। न्याय परिषद्को आइतबारको बैठकले बहालवाला सर्वोच्च अदालतका मुख्य रजिस्टार नृपध्वज निरौला र उच्च अदालतका बहालवाला दुई न्यायाधीशलाई मुख्य न्यायाधीशमा नियुक्त तथा पदस्थापन गरेको हो।

न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार निरौलालाई उच्च अदालत दिपायलको मुख्य न्यायाधीशमा पदस्थापन गरिएको छ। निरौला सर्वोच्चको मुख्य रजिस्टार थिए।

निरौला मुख्य न्यायाधीशमा नियुक्त भएपछि सर्वोच्चमा मुख्य रजिस्टार पद रिक्त भएको छ। त्यसैगरी प्रकाशचन्द्र गजुरेललाई उच्च अदालत जनकपुरको मुख्य न्यायाधीशमा नियुक्त गरिएको छ। यसअघि उनी जनकपुरमै कायम मुकायम मुख्य न्यायाधीश थिए।

त्यस्तै उच्च अदालत तुल्सीपुरमा कार्यरत कायम मुकायम मुख्य न्यायाधीश नीता गौतम दीक्षितलाई पनि मुख्य न्यायाधीशमा नियुक्त गरिएको छ। उनलाई तुल्सीपुरमै पदस्थापन गरिएको छ।

अन्य सम्बन्धित समाचार:  कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि