काठमाडौं। कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् विरुद्ध उच्च अदालत इलाममा तीनवटा मुद्दा दर्ता भएको छ । गत जेठ २४ गते परिषद्को कार्यकाल समाप्त भएपछि कोरोनाको कारणले रोकिएको पुनर्गठन प्रक्रिया गत पुस १७ गतेबाट पुनः शुरु भएको थियो ।
कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को गठन नियमावली र तदर्थ समितिले बनाएको आचारसंहिता विपरीत भएको भन्दै बुद्धर्धपलिङ उपभोक्ता समूहका अध्यक्ष तेन्जिङ शेर्पा, मादिबुङ उपभोक्ता समूहका पराजित अध्यक्ष लाक्पा शेर्पा र देउराली उपभोक्ता समूहका सदस्थ लाक्पा छेतेन शेपाले उच्च अदालत इलाममा गत ६ गते एकैपटक तीनवटा मुद्दा दर्ता गरेका हुन्।
अन्य जिल्लामा बसोबास गर्दै आएको व्यक्ति समावेश गरेको भन्दै मादिबुङ उपभोक्ता समूहका पराजित उम्मेदवार लाक्पा शेर्पाले आफ्नो प्रतिद्वन्दी निर्वाचित खकेद्र फेम्बू ,कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालय, तदर्थ समितिका संयोजक तथा संरक्षण अधिकृत गणेशप्रसाद तिवारी, कार्यालय सचिव मनकुमार लिम्बू, तदर्थ समितिका सदस्य भरत सिं लिम्बू, नेत्रप्रसाद फेम्बू र अम्बिका श्रेष्ठलाई प्रतिपक्षी बनाएर उच्च अदालत इलाममा मुद्दा दर्ता गरेका हुन् ।
त्यस्तै घरधुरी नभएको व्यक्तिलाई मतदान गर्न दिएको भन्दै देउराली उपभोक्ता समूहका निर्वाचित अध्यक्ष केरसिङ लिम्बू, तदर्थ समिति र कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयविरुद्ध देउराली उपभोक्ता समूहका परिजित अध्यक्ष लाक्पा छेतेन शेर्पाले मुद्दा दर्ता गराएका हुन् ।