ओलम्पिया वर्ल्ड स्कूलका सञ्चालक शिरिष खड्का र सुरेन्द्र महर्जन पक्राउ

काठमाडौं। तीन करोड ठगी गरेको आरोपमा प्रहरीले ओलम्पिया वर्ल्ड स्कूलका सञ्चालक शिरिष खड्का र सुरेन्द्र महर्जनलाई पक्राउ गरेको छ।

कोटेश्वरमा रहेको दुई रोपनी १४ आना जग्गा बिक्रीका लागि दुई करोड ७५ लाख बैना लिएर जग्गा नदिई रकम ठगी गरेको उनीहरुमाथि आरोप लागेकाे छ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले उनीहरुले पीडितलाई बैना रकमसमेत फिर्ता नगरेका कारण ठगी मुद्दा परेलगतै उजुरीका आधारमा पक्राउ गरिएको बताए।

उक्त जग्गा अन्य बैंकमा रोक्का रहेको अवस्थामा ठगी गर्ने उद्देश्यले नै बैना गरेको पाइएको प्रहरी नायब उपरीक्षक विष्टले बताए।

उनीहरुविरुद्ध गत वर्षको फागुनमै उजुरी परे पनि आवश्यक अनुसन्धान प्रक्रिया पूरा गरी माघ ११ गते आईतबारमात्र पक्राउ गरिएको हो।

अन्य सम्बन्धित समाचार:  दुर्गममा काम गरेको झुटो विवरण पेस गर्ने ४९ डाक्टरलाई एमडी-एमएस पढ्न रोक

उक्त घटनामा संलग्न रहेका अन्य चार जना फरार रहेको र उनीहरुको खोजी भइरहेको महानगरिय प्रहरी परिसर काठमाडौले जनाइएको छ।