भारतमा लागेको चिनियाँ एपहरुको प्रतिबन्ध कायमै रहने

भारत

एजेन्सी। भारतले चिनियाँ एप्समा लगाएको प्रतिबन्धलाई निरन्तरता दिने भएको छ। सन् २०२० मा धेरै चिनियाँ एपहरू भारतको केन्द्र सरकारले प्रतिबन्धित गरेको थियो। टिकटक पनि यी एपहरूमा समावेश छ।

यसैबिच टिकटक लगायत प्रतिबन्धित अन्य एपहरुले अझै कुनै राहत पाइरहेका छैनन्। भारत सरकारले यी एपहरूमा प्रतिबन्ध जारी रहने स्पष्ट पारेको छ।

सरकारले यसबारे सबै प्रतिबन्धित एप्सहरुलाई सूचना पठाएको भारतीय मिडियाहरुको रिपोर्टमा उल्लेख छ।

यस मुद्दासँग सम्बन्धित स्रोतलाई उल्लेख गर्दै आएको रिपोर्टमा भारतीय इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयले प्रतिबन्धित एपहरुले पठाएका जवाफ र प्रतिक्रियाहरू पुनरावलोकन गरेपछि उक्त नयाँ सूचना पठाएको हो।

सूचना पठाइएका मध्ये टिकटकले सरकारबाट सूचना प्राप्त गरेको पुष्टि गर्दै उक्त सूचनाको मूल्यांकन गरिरहेको बताएको छ।

टिकटकका प्रवक्ताले भने, ‘हामी नोटिसको मूल्यांकन गर्दैछौं र यसलाई उचित रूपमा प्रतिक्रिया दिनेछौं। टिकटक २९ जुन २०२० मा भारत सरकारले जारी गरेको निर्देशन अनुसरण गर्ने पहिलो कम्पनी थियो।’

भारतले चीनसँगको सीमा विवादका बिच गत वर्ष जुन २०२० मा पहिलो चरणमा ५९ एप्स र त्यसपछि सेप्टेम्बरमा ११८ चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाएको थियो ।