ओलीले सबैसँग निहुँ खोज्दै गाली गर्दै हिँडेः वर्षमान पुन

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपा नेता वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले बाटोमा जसलाई देख्यो उसैलाई गाली गर्दै हिँड्न थालेको टिप्पणी गरेका छन्। सोमबार रिपोटर्स क्लब लुम्बिनीले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पुनले प्रधानमन्त्री पदको मर्यादा कायम गर्दै सबैसँग निहुँ खोज्दै नहिँड्न ओलीलाई सुझाव समेत दिए।

उनले ‘कुकुर देखे कुकुरलाई र ढुकुर देखे ढुकुरलाई हान्ने’ भन्दै व्यङ्ग्य गरेका छन्। उनले भने, ‘ओलीले अदालतलाई गाली गरेका छन्, वलिकलाई गाली गरेका छन्, मिडियालाई गाली गरेका छन्, डाक्टरलाई गाली गरेका छन्,जसलाई देख्यो उसैलाई गाली गर्दै हिँडेका छन्।

नेतृत्वमा बसेको मान्छेले सकारात्मक सोच बोकेर राम्रो गरेर देखाउनु पर्ने भन्दै उनले भने, ‘सवैसँगै निहुँ खोज्दै गाली गर्दै नहिँड्नुहोस्। जिम्मेवार बन्नुहोस्।’ पूर्वमन्त्री समेत रहेका पुनले हिजो निर्वाचन आयोगले गरेको निर्णय प्रति कार्यकारीको अगाडि संवैधानिक निकाय लाचार भएको पुष्टि भएको आरोप लगाएका छन्।

अन्य सम्बन्धित समाचार:  एमालेकाे पार्टी कार्यालय धुम्बाराही, बोर्ड राखिदै

निर्वाचन आयोग आफ्नो जिम्मेवारीबाट पन्छिएको आरोप लगाउँदै उनले आयोगको क्षमताप्रति प्रश्न पनि उठाएका छन्। ‘नेकपाको ४४१ जना केन्द्रीय सदस्यलाई मान्यता दिएको आयोगले ७० प्रतिशत बढीको हस्ताक्षरमा भएको निर्णयलाई वैधानिकता दिनुपथ्र्यो,’ पुनले भने। उनले निर्वाचन आयोगको निर्णयप्रति पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने पनि बताए।