प्रधानमन्त्रीसँग अर्को संविधान छ : अधिवक्ता थापा

काठमाडौं। वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अर्कै संविधान रहेको टिप्पणी गरेका छन्। सोमबार प्रतिनिधि सभा विघटन मुद्दामा संवैधानिक इजलासमा बहस सुरू गर्दै थापाले अहिलेको संविधानअनुसार त संसद विघटन गर्न नपाइने बताएका हुन्।

प्रधानमन्त्री ओलीले दिने गरेका अभिव्यक्तिलाई लिएर थापाले व्यंग्यात्मक शैलीमा भने, ‘संविधान एउटै हो, श्रीमानहरूले बोकेको, हामीले बोकेको। तर त्यो संविधानले बेला–बेलामा बोली फेर्न भएन।’

उनले  भने, ‘श्रीमानहरूले संविधान पल्टाएर यत्रो जिज्ञासा राख्नुभएको छ। संविधान त्यही हो। प्रधानमन्त्रीसँग अर्को संविधान छ। संविधानसभा अध्यक्ष (सुवास नेम्वाङ) सँग अर्को संविधान छ।’

संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङले बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने व्यवस्था संविधानमा राखेको सार्वजनिक अभिव्यक्ति दिएका थिए भने प्रधानमन्त्री ओलीले गत पुस ५ को संसद विघटन संविधानअनुसार नै भएको दाबी गर्दै आएका छन्।

अन्य सम्बन्धित समाचार:  प्रचण्डले लगाए कोरोनाविरुद्दको खोप

वरिष्ठ अधिवक्ता थापाले विगतको संविधानसभामा रहेका न्यायाधीश सपना प्रधान मल्ल, महान्यायाधिवक्ता अग्नि खरेल र नेता सुवास नेम्वाङमाथि पनि प्रश्न उठाएका छन्। ‘पदमा जाने, पदमा गएर बोलेर हामीलाई लिड गर्ने अनि पछि बोली फेर्न पाइँदैन नि,’ थापाले भने।

थापाले बहस गर्दैगर्दा खाजाका लागि इजलास स्थगित गरिएको छ। संसद विघटनविरुद्ध परेका रिटहरुमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी छ।