काठमाडाैं। आफ्ना बालबच्चा नबोल्दा अवश्य नै प्रत्येक अभिभावकको मन दुख्ने गर्दछ। बच्चाको बोली आओस् भन्दै थुप्रै धनराशि खर्चेर उपचार गर्ने गर्दछन्। तनहुँको भिमाद नगरपालिका वडा नं ८ वैद्यपानी सिम्लेमा रहेको तीर्थस्थल ‘लाटी बाराही’ तिनै नबोल्ने बालबालिकाका लागि बोली दिने तीर्थस्थलका रुपमा ख्याति कमाएको छ।
उमेर पुगेर पनि नबोल्ने बालबालिकालाई उक्त मन्दिरमा लगेर पूजाआजा गराएमा बोली आउने जनविश्वासका कारण पछिल्ला केही वर्षयता तनहुँ, कास्कीलगायतका विभिन्न जिल्लाबाट यहाँ दर्शनार्थी पुग्ने गरेका छन्। नबोल्ने बालबालिकाका लागि बोली दिने प्राचीन जनविश्वासका आधारमा बालबच्चा लिएर भाकल एवं सामान्य पूजाका लागि दर्शनार्थी आउने गरेको स्थानीयवासी विष्णु खनालले बताए।
बालबालिकालाई उक्त मन्दिरमा लगेर पूजाआजा गराएमा बोली आउने जनविश्वास
मन्दिरको स्थापना कहिले भयो भन्ने यकीन तथ्य अझै फेला नपरेको बताउँदै उनले आफूहरूले बाल्यकालमा उक्त स्थानमा सामान्य मौलो एवं शिला मात्रै देखेको अनुभव सुनाए। उनका अनुसार पछिल्लो समयमा महिला जागरण आमा समूहले लाटी बाराहीको मन्दिर निर्माण गर्दै यस स्थानलाई व्यवस्थित बनाउने प्रयास गरेको छ।
खरखरे पहरोका बेंसीमा रहेको मन्दिर परिसरमा मौलो गाडिएको स्थानमा बेलाबेलामा लहरी छुट्नु यहाँको विशिष्टता हो। आमा समूहको सक्रियतामा १५ वर्ष अघि मन्दिर निर्माण गरिएको आमा समूहकी सदस्य शारदा खनालले जानकारी दिईन्।