हत्याको आशंकामा जल्दै गरेको शव प्रहरीद्वारा बरामद

काठमाडौं। हत्याको आशंकामा प्रहरीले जल्दै गरेको शव बरामद गरेको छ। घटना शंकास्पद देखिएपछि अनुसन्धानका लागि बाराको श्रीपुर घर भएकी ३५ वर्षीया बबिता चौधरीको शव पशुपति मन्दिर परिसरको राम मन्दिर नजिकबाट सोमबार प्रहरीले बरामद गरेको हो।

बरामद शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको महानगरीय प्रहरी वृत्त, गौशालाका डीएसपी जितेन्द्र बस्नेतले बताए।

अनुसन्धानका लागि प्रहरीले चौधरीका श्रीमान ३८ वर्षीय रवि र चल्ली भनेर चिनिने अनु थापालाई पक्राउ गरेको छ। ‘चार दिन अघि मृतकले अनुको मोबाइल चोरेको भन्ने खुलेको छ, त्यसैले उनले अरु दुई तीन जना महिला लगाएर कुटपिट गरेको पाइएको छ’, बस्नेतले भने, ‘टाउको र आँखामा चोट लागेका उनी त्यसपछि हिँड्न नसकेर त्यहीँ लडेकी रैछिन्।’

अन्य सम्बन्धित समाचार:  सुनौली नाकामा तनाव

शनिबार त्यहीँ लडिरहेको देखेपछि रवि र अनुले मन्दिरभित्र आश्रममा सुताइदिएको पाइएको प्रहरीले जनाएको छ। तर, त्यसवेलासम्म बबिताको मृत्यु भइसकेको हुनसक्ने आशंका गरिएको छ।