प्रतिनिधि सभाले कार्यपालिकालाई कहिल्यै असहयोग गरेको छैनः अग्नि सापकोटा

काठमाडौं। सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाले कार्यपालिकालाई कहिल्यै असहयोग नगरेको दाबी गरेका छन्। सोमबार अन्तरपार्टी महिला सञ्जालको ध्यानाकर्षण पत्र बुझ्दै सापकोटाले प्रतिनिधि सभाबाट कार्यपालिकालाई अहिलेसम्म सहयोग नै गरेको बताएका हुन्।

प्रधानमन्त्री केपी ओलीले विभिन्न कार्यक्रममा पुगेर प्रतिनिधि सभाबाट आफुलाई असहयोग भएको बताउदै आएका थिए। सभामुख सापकोटाले भने त्यो आरोप अस्वीकार गरेका हुन्।

सभामुखले वर्षे अधिवेशनले नेपालको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सर्वसम्मत रुपमा संविधान संशोधन गरेको स्मरण गरे। संसदमा अभुतपूर्व एकता देखिएको भन्दै उनले भने, ‘कुनै दिन पनि न त्यहाँ नारा लाग्यो, न वेल घेर्ने काम भयो।’ ‘सहयोग भएन, त्यहाँ अलिकति अराजकता भयो भन्ने जो कुरा आइरहेको छ त्यो सत्यमा आधारित छैन,’ उनले अघि भने, ‘चाहे नीति कार्यक्रम पास गर्ने कुरामा होस्, चाहे बजेट पास गर्ने कुरा होस्। हरेकमा प्रतिनिधि सभाले सहयोग नै गरेको छ, कार्यपालिकालाई कहिले पनि असहयोग गरेको छैन।’

अन्य सम्बन्धित समाचार:  प्रहरीले सामाजिक सञ्जालमा सामाग्री शेयर गर्न नपाउने