दोलखा। दोलखाको भीमेश्वर नगरपालिका–५ मथानीका रामहरि सुवेदी केही महिना अघिसम्म चरीकोटमा गाडी चलाउँथे। पर्यटकको चहलपहल हुने चरीकोटमा घुम्न जान उनलाई फोन गरेर बोलाउने गर्थे। अहिले उनी त्यो पेशामा देखिदैनन्। गाडी भाडामा चाहियो भनेर फोन गर्नेहरु अहिले दूध चाहियो भन्छन्।
चरीकोटका आफनो पुराना सबै व्यवसाय छाडेका सुवेदीले भीमेश्वर नगरपालिका–५ मथानीमा सात भैँसी पालिरहेका छन्। अन्य पेशाभन्दा भैँसीपालनबाट सुवेदीले राम्रो आम्दानी गरेका छन्। उनले जग्गा लिएर भैँसी फार्म निर्माण गरेका हुन्।
दैनिक ७० देखि ८० लिटरसम्म दूध सङ्कलन हुने गरेको छ। सुवेदी बिहान आफैँ मोटरसाइकलमा चरीकोटकोपसलहरुमा दूध पु¥याउन जान्छन्। बजारमा डेरीको भन्दा भैँसीको दूधको माग धेरै छ। बजारमा नै लगेर ८० रुपैयाँमा एक हर्लिक्स दूध बेच्न गरेको सुवेदीको भनाइ छ।
दूध बेचेर मासिक रु एक लाख ५० हजारसम्म आम्दानी हुने गरेको सुवेदीको भनाइ छ। खर्च कटौती गरेर मासिक ६० देखि ७० हजारसम्म फाइदा हुने उनको कथन छ। फार्ममा हाल मुर्रा र लाहुरे जातका भैँसी छन्।
तीन जनालाई रोजगारीसमेत दिएका सुवेदीले मथानी कृषि तथा पशुपक्षी फार्म दर्ता गरी व्यावसायिकरुपमा नै सञ्चालनको तयारी गरेका छन्। फार्म विस्तार गरी ३१ वटासम्म भैँसी सहजै पाल्न सकिने बनाइएको छ।
करीब २० वटा भैँसी दुहुनो राख्ने योजना सुवेदीको छ। हालसम्म करीब ५० लाख लगानी गरिसकेको र भैँसीपालनका साथै अर्गानिक तरकारी खेतीको समेत तयारी गरिएको सुवेदीको भनाइ छ।