चुनाव वैशाख १७ र २७ गते नै हुन्छः प्रधानमन्त्री ओली 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको मिति वैशाख १७ र २७ गते नै चुनाव हुने खुलासा गरेका छन्। दाङमा नेकपाले आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तोकिएकै मितिमा चुनाव हुने भएकाले चुनावको तयारीमा लाग्न कार्यकर्ताहरूलाई अनुरोध गरेका छन्।

प्रधानमन्त्री ओलीले भने, ‘तपाईहरु चुनावको तयारीमा लाग्नुस्, वैशाख १७ र २७ गते निर्वाचन हुन्छ । कतिपयले ओलीले निर्वाचन गराउँदैन भन्दैछन् उनीहरूलाई भन्न दिनुस्, तपाईँहरू चुनावको तयारीमा लाग्नुस्। हामीले सानदार सफलता प्राप्त गर्नेछौ,’ ‘भ्रममा नपर्न आग्रह गर्न चाहन्छु द्विविधामा नपरेर, आत्मविश्वास साथ । चुनावको तयारीमा लाग्नुस् । युवाहरू पनि तयारीमा लाग्नुस् ताकि कसैले चुनाव बिथोल्न नसकोस्।’

साथै ओलीले तोकिएको मितिमै चुनाव हुने भन्दै निष्पक्ष चुनावको तयारीमा लाग्न सुरक्षाकर्मी र कर्मचारीलाई आग्रह गरेका छन्। उनले भने ‘तपाईं सुरक्षाकर्मीलाई भन्न चाहन्छु, चुनाव भनेकै मितिमा हुन्छ। हामीलाई प्रहरीको बैशाखी टेक्नु परेको छैन। कार्यकर्ता र जनताको बलमा चुनाव जितिन्छ । तपाईँहरू निष्पक्ष ढंगले चुनाव गराउने तयारी गर्नुस्।

अन्य सम्बन्धित समाचार:  प्रचण्ड–माधव पक्षका गौतम पक्राउ