६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवस आज

काठमाडौं। ६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवस आज बिभिन्न कार्यक्रम गरि मनाँइदैछ। विश्व भन्सार संगठनको निर्णयअनुसार हरेक जनवरी २६ मा यो दिवस मनाउन थालिएको हो। दिवसको अवसरमा भन्सार विभागले आज नेपाल राष्ट्रिय एकद्वार प्रणाली सार्वजनिक गर्दैछ।

 अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउन भन्सार प्रक्रियासँग सम्बन्धित सबै निकायलाई आबद्ध गराउनेगरी नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु गर्न लागिएको विभागले जनाएको छ।

विभागका अनुसार यो प्रणाली पहिलो चरणमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वरेण्टीन केन्द्रहरुमा लागू हुनेछ। त्यसपछि यो आर्थिक वर्षमा सबै ४० वटै निकायमा यो प्रणाली कार्यान्वयनमा आउने विभागले जनाएको छ। यो प्रणालीमार्फत व्यापारीहरुले अब अनलाइनमार्फत सम्बन्धित कागजात पेस गर्न सक्ने विभागका महानिर्देशक सुमन दाहालले बताएका छन्।

अन्य सम्बन्धित समाचार:  शेयर बजार ९० अङ्कभन्दा धेरैले बढ्यो

अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित तथ्याङ्क र प्रतिवेदन प्रणालीलाई थपस्तरीय बनाउन र विद्युतीय भुक्तानी प्रणाली विकासमा पनि यो प्रणाली सहयोगी बन्ने विभागका महानिर्देशक दाहालको भनाइ रहेको छ। भन्सार प्रणालीसँग अहिले ४० वटा विभिन्न निकायहरु जोडिएका छन्। भन्सार छलेर कुनै सामान या सेवाको आपूर्ति गर्नुलाई गैरकानुनी मानिन्छ।