सरकार, नागरिक समाजसँग क्षमा मागः डा. शेखर कोइराला

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नागरिक समाजसँग क्षमा माग्न सरकारलाई आग्रह गरेका छन्। मंगलबार बिहान सामाजिक सञ्जालमार्फत डा. कोइरालाले प्रतिगमनविरुद्धको शान्तिपूर्ण प्रदर्शनका क्रममा नागरिक समाजमाथिको दमनका लागि माफी माग्न सरकारलाई भनेका हुन्।

सोमबार दिउँसो शान्तिपूर्ण आन्दोलन गरिरहेका नागरिक अभियन्ताविरुद्ध प्रहरीले पानीको फोहरा र लाठी बर्साएको थियो। जसबाट १२ जनाभन्दा बढी नागरिक अगुवा घाइते भएका छन्। उनीहरुको उपचार जारी छ।

नेता कोइरालाले संसद् विघटन गराएका प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा सवा लाख दीप प्रज्वलन गर्दैमा देश र जनताप्रति गरेको अपराधबाट उन्मुक्ति नपाउने टिप्पणी गरे।

‘देशको माटो निधारमा लगाएर प्रतिगमनका विरुद्धमा शान्तिपूर्ण प्रदर्शनमा रहेका नागरिक समाजमाथि बर्बरताको निन्दा र भत्र्सना जति गरे पनि पुग्दैन,’ नेता कोइरालाले लेखेका छन्, ‘त्यो अपराधको दण्डबाट मुक्ति न त मन्दिरमा गरिने क्षमा पूजाबाट सम्भव छ न त कम्युनिस्ट शब्दकोशको आत्मालोचनाबाट नै।’

अन्य सम्बन्धित समाचार:  काठमाडौं आइपुगे विप्लव, प्रधानमन्त्री भेट्न जाँदै

उनले भनेका छन्, ‘सरकार, नागरिक समाजसँग क्षमा माग।’