डिभिजन वन तनहुँद्वारा पाँचजना पक्राउ

तनहुँ। डिभिजन वन कार्यालय तनहुँले विभिन्न मुद्दाका पाँच जनालाई पक्राउ गरेको छ । सालको चिरान काठसहित दुई जनालाई सोमबार पक्राउ गरिएको सो कार्यालयले जनाएको छ ।

व्यास नगरपालिका–१ निवासी हर्क थापा र व्यास–१३ निवासी देउबहादुर आलेलाई पक्राउ गरिएको हो । व्यास–१ स्थित देउबहादुर आलेको श्रीराम फर्निचर उद्योगबाट १३०.२ क्यूफिट सालको चिरान काठ बरामद गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए।

त्यसैगरी गैँडाको छाला र चित्तलको सिङ ओसारपसार कार्यमा संलग्न जिल्लाको बन्दीपुर–६ निवासी कृष्णबहादुर गुरुङ र विमल गुरुङलाई पक्राउ गरिएको छ । उक्त कार्यमा संलग्न वीरेन्द्र गुरुङ भने हालसम्म फरार रहेको उनले बताए।

अन्य सम्बन्धित समाचार:  बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयो

त्यस्तै बिनालाइसेन्स काठ ओसारपसार मुद्दामा जिल्लाको बन्दीपुर गाउँपालिका–२ ढाबटार निवारी हिमबहादुर चुमी मगरलाई पक्राउ गरिएको छ ।
निजमार्फत सालको ३८.७४ र बर्रोको ६८.९९ क्यूफिट काठ बरामद गरिएको हो । उनीविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा दायर भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई वन कार्यालयको हिरासतकक्षमा राखेर थप अनुसन्धान भइरहेको डिभिजन प्रमुख काफ्लेले बताए।