नागरिक आन्दोलनमा प्रहरी दमन निन्दनीयः प्रकाशमान सिंह

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सोमबार नागरिक आन्दोलनमाथि बालुवाटारमा भएको प्रहरी दमन निन्दनीय भएको बताएका छन्। मंगलबार नेता सिंहले सामाजिक सन्जालमा शान्तिपूर्ण आन्दोलन दबाउन गरिएको हस्तक्षेपले वर्तमान सरकारको अधिनायकवादी चरित्र उदांगिएको बताएका हुन्।

उनले लेखेका छन्, ‘असंवैधानिक कदमविरूद्ध हिजो बालुवाटारमा शान्तिपूर्ण विरोध कार्यक्रम गर्नेहरुमाथि भएको प्रहरी दमन निन्दनीय छ। नागरिक आन्दोलनको आवाज दबाउन गरिएको हस्तक्षेपले केपी ओेली नेतृत्वको वर्तमान सरकारको तानाशाही र अधिनायकवादी चरित्र उदांगिएको छ।’

लोकतन्त्रमा सबैले आफ्ना मत राख्न पाउने भन्दै उनले फरक मतलाई सुन्न सक्ने चरित्रको विकास गर्न सरकारलाई सझाव दिएका छन्। उनले नागरिकमाथि दमन गरेर असंवैधानिक कदमको ढाकछोप गर्ने कुचेष्टाविरूद्ध सबै नागरिकलाई एकताबद्ध हुन र संविधान रक्षाको पक्षमा उभिन आग्रहसमेत गरेका छन्। उनले भने, ‘लोकतन्त्रमा सबैले आफ्ना मतहरू राख्न पाउँछन्। सरकारले फरक मतलाई सुन्न सक्ने चरित्रको विकास गरोस्। निहत्था नागरिकमाथि दमन गरेर असंवैधानिक कदमको ढाकछोप गर्ने कुचेष्टाविरूद्ध सबै नागरिकलाई एकताबद्ध हुन र संविधान रक्षाको पक्षमा उभिन पनि म आग्रह गर्दछु।’

अन्य सम्बन्धित समाचार:  दीप बस्न्यातले आफै हटाए सर्वोच्चमा सुनुवाइको पेसी

सोमबार नागरिक आन्दोलनमाथि बालुवाटारमा प्रहरीले लाठीचार्ज गर्नुका साथै पानीको पोहोरा हानेको थियो।