काठमाडौं। निजी क्षेत्रले उद्योगका लागि चाहिने कच्चा पदार्थको भन्सार दर दुई तहको फरक हुनुपर्ने, भ्याट र आयकर कम हुनुपर्ने, राजस्व तिर्दा ई–पेमेन्ट गर्न सकिने सुविधा हुनुपर्ने लगायत माग गरेको छ।
६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरुले भन्सारमा अझै आधुनिकीकरण नभएको गुनासोसमेत गरेका छन्। अर्थमन्त्री बिष्णुप्रसाद पौडेल समेत उपस्थित उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कच्चा पदार्थको आयातमा भन्सारदर दुई तहको फरक हुनुपर्ने माग गरे।
कच्चा पदार्थको आयातमा भन्सार दर फरक भएमात्र प्रतिस्पर्धी बजारमा सामान बनाएर बिक्री गर्न सकिने उनको भनाइ छ।आयातमा ३२० डलर खर्च हुने तर निर्यातमा १५ सय २० डलर लाग्ने भएकोले धेरै व्यापारी आयाततर्फ आकर्षित भएको उनको भनाइ छ। त्यस्तै नेपालबाट निर्यात बढाउने हो भने निर्यात कष्ट घटाउनुपर्ने धारणा राखे।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकारले लिने भ्याट १० प्रतिशत र आयकर २० प्रतिशतमा झार्न आग्रह गरे।
नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले भन्सारले भन्झटबिना नै कागजविहीन जाँचपास गर्नुपर्ने बताउँदै डिजिटल भुक्तानी आवश्यक रहेकोमा जोड दिए।
कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिडविरुद्वको खोपमा पनि नेपालले उल्लेखनीय सफलता प्राप्त गरेको बताउँदै विस्तारै अर्थतन्त्रले गति लिन सुरु गर्ने दाबी गरे।