काठमाडौं। नेपाल पत्रकार महासंघले नागरिक आन्दोलनमाथि भएको प्रहरी दमनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै महासंघले प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक तहबाट भएको शान्तिपूर्ण आन्दोलनमा सहभागी वरिष्ठ पत्रकार नारायण वाग्ले, मानव अधिकारकर्मी कृष्ण पहाडीलगायतमाथि प्रहरीद्वारा बर्बर आक्रमण गरी घाइते बनाएको घटनाले नागरिकको हकअधिकारमाथि गम्भीर आघात पुगेको ठहर गरेको छ।
शान्तिपूर्ण र स्वतन्त्र रूपमा प्रदर्शनमा उत्रिएका मानव अधिकारवादी र नागरिक अभियन्तामाथि भएको प्रहरी दमन अभिव्यक्ति स्वतन्त्रताविरोधी कार्य भएको महासंघले जनाएको छ। संविधानले सुनिश्चित गरेको नागरिकको हकअधिकारको रक्षा गर्न, विधिको शासन र कानुनीराजको सम्मान गर्न महासंघले सरकारको ध्यानाकर्षण समेत गराएको छ।
आगामी दिनमा यस्ता दमनकारी कार्य नदोर्याउन सरकारलाई चेतावनी समेत दिएको छ।
सोमबार नागरिक आन्दोलन र मानव अधिकारवादीले कमलपोखरीमा गरेको शान्तिपूर्ण कार्यक्रममा सहभागी मानव अधिकारवादी र नागरिक अभियन्तामाथि प्रहरीले लाठी र पानीका फोहरा प्रहार गर्दा दर्जनभन्दा बढी घाइते भएका थिए।