संसद् विघटनको अधिकार प्रधानमन्त्रीलाई छैन: शम्भु थापा

काठमाडौं। वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानभन्दा बाहिर गएर संसद विघटन गरेको बताएका छन्। मंगलबार संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्दै थापाले प्रधानमन्त्रीलाई विघटनको अधिकार संविधानले नदिएको बताएका हुन्।

सदनमा नगइ प्रधानमन्त्री र संसद् समाप्त नहुने भन्दै थापाले भने, ‘सरकार चलाउन मन नभए राजीनामा दिने हो। संसद् विघटनको अधिकार नै छैन।’ संसद्को अधिवेशन आह्वान गर्ने समयमा हठात् प्रतिनिधिसभा विघटन गरिएकोप्रति आपत्ति जनाउँदै थापाले प्रधानमन्त्रीको लिखित जवाफमा एकातिर ‘विघटनको अधिकार छ’ भनेको र अर्कोतिर ‘बाध्यता’ भन्नुले विरोधाभाषपूर्ण देखिएको पनि बताए।

आफ्नो बहसलाई बिट मार्दै अधिवक्ता थापाले मिर्जा गालिबको एउटा सायरी सुनाएका छन्।

अन्य सम्बन्धित समाचार:  आयोगले अन्याय गरे पनि सर्वोच्चले ढिलै भएपनि न्याय दियो: ऋषिराम कट्टेल

जला है जिस्म जहाँ दिल भी जल गया होगा,
कुरेदते हो जो अब राख जुस्तुजू क्या है ?

त्यसको नेपाली भावार्थ हुन्छ–
शरीर डढिसक्यो भने मुटु पनि त डढ्यो होला,
खरानी खोतलिरहेका छौ, अब के पो खोज्दैछौ ?

उनले संविधान मर्दा लोकतन्त्र नै मर्ने अर्थमा उक्त सायरी सुनाएका हुन्। संविधानमाथिको अतिक्रमणले लोकतन्त्र पनि अन्त्य हुने उनको चिन्ता थियो।