मलेसियामा फैलँदाे कोरोना संक्रमणले नेपाली कामदार त्रसित

काठमाडौं। मलेसियामा कार्यरत नेपालीहरुमा त्यहाँ फैलँदाे कोरोना भाइरस संक्रमणले त्रास बढाएकाे कामदारहरुले बताएका छन्। लामो समय कोरोना भाइरसलाई नियन्त्रणमा राखेको मलेसियामा पछिल्ला दिनमा संक्रमण तीव्र बनेसँगै कामकाे विषयमा नेपालीहरु चिन्तित रहेकाे पाईएकाे छ।

मलेसियामा संक्रमित हुनेको संख्या अहिलेसम्म १ लाख ८६ हजार ८४९ जना पुगेको छ भने मृत्यु हुनेको संख्या ६सय ८९ पुगेको छ। सोमबार मात्रै त्यहा‘ ११ जनाको मृत्यु भएको थियाे। पछिल्ला दिनमा संक्रमित र मृत्युको संख्या बढेपछि मलेसियाले संक्रमण बढीरहेको क्षेत्रमा आवागमन नियन्त्रण आदेशमा कडाई गरिएकाे छ। त्यसले रोजगारस्थलमा पुग्नुपर्ने नेपालीसहित आप्रवासी कामदारहरुलाई समस्या परेको बताइएको छ। मलेसियामा १७ लाख विदेशी कामदार कार्यरत रहेका छन्।

अन्य सम्बन्धित समाचार:  सर्वोच्च अदालतबाट ओली–प्रचण्डको नेकपा खारेज, नेकपाको आधिकारिकता ऋषि कट्टेललाई

बंगलादेशबाट गएका कामदारले आवागमन नियन्त्रण आदेश उल्लंघन गर्नेक्रम बढेपछि मलेसियामा सबै देशबाट गएका आप्रवासी कामदारमाथि प्रहरीले निगरानी बढाएको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। शहरका मुख्य–मुख्य चोकमामा सडक अवरोध गरी कडाईका साथ चेकजाँच गरिएकाे बताईएकाे छ।

मलेसिया प्रहरीले कोरोना सम्बन्धी स्टयाण्ड अपरेशन प्रोसिड्युर (एसओपी) पालना नगर्ने कसैलाई पनि माफी नदिइने बताएको छ। गत जनवरी १३ तारिखदेखी आगामी फेब्रुअरी ४ तारिखसम्म तीन हप्ताका लागि कडाई गरेको मलेसियाले आगामी अगस्ट १ तारिखसम्म संकटकाल घोषणा गरेको छ।