हिमाल आरोहीलाई अवार्ड दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहीलाई अवार्ड दिने घोषणा गरेका छन्। मंगलबार पाकिस्तानको माउन्ट केटु आरोहण गरी कीर्तिमान कायम गरी फर्केका नेपाली आरोहीहरुलाई सम्मान गर्दै प्रधानमन्त्री ओलीले अब उप्रान्त राज्यले आरोहीलाई अवार्ड दिने बताएका हुन्।

प्रधानमन्त्री ओलिले कीर्तिमान राख्ने गरी हिमाल चढ्न जाँदा सरकारलाई औपचारिक जानकारी गराएमा राज्यको तर्फबाट उचित सहयोग गर्ने आश्वासनसमेत दिएका छन्। ‘यति ठूलो काममा जाँदा सरकारलाई पनि जानकारी गराउनुहोस्, धेरै नसकौंला, गच्छेअनुसार सहयोग गर्छ,’ ओलीले भने।

प्रधानमन्त्रीले आरोहीबाट सबैले प्रेरणा लिन सक्ने भन्दै टिमका सदस्यलाई बधाई ज्ञापन गरे। आरोहणको क्रममा अत्यन्त सावधानी अपनाउन सुझाव दिँदै उनले अनुभवलाई हल्का रुपमा नलिन समेत आग्रह गरेका छन्।

अन्य सम्बन्धित समाचार:  महाशिवरात्रिको तयारी: सूर्यघाटबाट आर्यघाटसम्म सफाइ

प्रधानमन्त्री ओलीले ठट्यौली शैलीमा माउन्ट केटु आरोहणमा आफू पनि जान पाएको भए अझ बढी धुमधाम हुन्थ्यो होला भने। ‘आरोहण मुस्किल छ, कठिन छ, सजिलो भएको भए त प्रधानमन्त्री पनि यो टिममा हुन्थ्यो,’ उनले भने, ‘अझ बढी धुमधाम हुन्थ्यो।’ त्यो दुस्साहस आफूले गरेको भए फर्केर नआउने ठट्टासमेत प्रधानमन्त्रीले गरे।

नेपालका १० जना पर्वतारोहीले यही माघ ३ गते पाकिस्तानस्थित माउन्ट केटु हिमालको सफल आरोहण गरेका थिए। हिउँदयाममा विश्वको दोस्रो अग्लो माउन्ट केटु आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका नेपाली आरोहीहरु मंगलबार काठमाडौं फर्किएका छन्।