वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज

काठमाडौँ। सरकारले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरेको छ। वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले बुधबार पत्रकार सम्मेलन आयोजना गरी वैज्ञानिक वनको नाममा अवैध रुपमा रुख कटान हुने अवस्थालाई रोक्न ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरिएको जानकारी दिए।

माघ ११ गतेको मन्त्रिपरिषद्को बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज गरेको भन्दै उनले मन्त्रिपरिषदबाट पारित भएको निर्णय छिट्टै राजपत्रमा प्रकाशित हुने पनि बताए। कार्यविधि खारेज भएपछि दिगो वन व्यवस्थापन अन्तर्गत कतै पनि हरियो वन सखाप नहुने गरी कार्ययोजना बनाएर जाने तयारी मन्त्रालयले गरिरहेको पनि मन्त्री आलेले बताए।

वैज्ञानिक वन कार्यक्रम खारेज भएपछि सरकारद्वारा व्यवस्थित वन, सामुदायिक वन, साझेदारी वनमा कटान भइसकेका काठ दाउरा प्रचलित कानून बमोजिम प्रक्रिया पूरा गरी सदुपयोग, विक्री वितरण तथा ओसार–पसार खुल्ला गर्ने तयारी गरेको पनि बताए।

अन्य सम्बन्धित समाचार:  प्रचण्डले अदालतमा पेस गरेका मुख्य पाँच बुँदा