जुम्लामा हिउँदे वर्षा र हिमपात नहुँदा किसान चिन्तित

जुम्ला। जुम्लामा यस वर्ष हिउँदे वर्षा र हिमपात नहुदाँ किसान चिन्तित भएका छन्। 

यो वर्षको जाडोमा पश्चिम र पूर्वका केही क्षेत्रमा छिटफुट पानी परे पनि विगतमा जस्तो हिउँदे वर्षा भएको छैन। बाली लगाउन समस्या हुने तथा आकाशे पानीको भर पर्ने किसानका गहुँलगायत बालीमा प्रभाव पर्ने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ। 

यस वर्ष हिउँद याममा हिमपात र पानी नपर्दा हिउँदे बालीनाली उत्पादनमा असर पुग्ने तिला गाउँपालिका– २ का किसान रतनबहादुर रोकायाले जानकारी दिए।

उनले भने, “गत वर्षको मङ्सिर, पुस र माघमा गरी पाँच पटक हिमपात र वर्षा भएको थियो। हिउँदे बालीदेखि नयाँ स्याउ बिरुवालाई फाइदा गरेको थियो।” किसान रोकायका अनुसार वर्ष माघको मध्यमा पनि हिमपात र वर्षा नहुँदा स्याउका बिरुवादेखि हिउँदेखेतीलाई असर परेको छ। 

हिउँदेयाममा पानी नपरेकाले गहुँ, तोरी, फापरलागयतका बालीमा सुख्खा लागेकाले ४० देखि ६० प्रतिशत उत्पादन घट्ने सम्भावना रहेको कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख बालकराम देवकोटाले जनाए। उनले भने, “माघ महिनाभित्र पानी परे केही राहत मिल्छ। धेरै नोक्सानी हुँदैन”। हिउँदे बालीलाई कात्तिक र मङ्सिरमा पानी पर्दा उत्पादन वृद्धि हुने कार्यालय प्रमुख देवकोटाले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  बर्थिङ सेन्टरको स्थापनापछि ग्रामीण महिला खुशी