२५ लाख ‘सुपारी’ दिएर दाइको हत्या

रूपन्देही। रूपन्देहीको मायादेवी गाउँपालिकामा एक हप्ता अघि ३४ वर्षीय युवकको हत्यामा घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। गत माघ ६ गते मायादेवी गाउँपालिका–७ गैरगट्टी दानव नदी नजिकै खेतमा ३४ वर्षीय राजेन्द्र यादवको जलाएर हत्या भएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेका अनुसार यादवलाई उनकै भाइ, काका र काकाको सम्धीले सम्पत्तिका लागि हत्या गरेको अनुसन्धानबाट पुष्टि भएको छ।

यादवका काकाले भतिज राजेन्द्रको हत्या गर्नेलाई २५ लाख रुपैयाँ वा एक कठ्ठा जग्गा दिने शर्तमा हत्या गराएको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक पोखरेलले बताए।

रूपन्देही प्रहरीले पत्रकार सम्मेलन गरी हत्याका मुख्य योजनाकार रूपन्देहीको सियारी गाउँपालिका– २ बस्ने रामबेलास यादव, बुद्धिराम कोहार, मृतकको भाइ विरेन्द्र यादव, काकाको सम्धी सन्त कुमार यादव तथा सिद्धार्थनगर–११ का राकेश यादव र अफताव मुसलमान रहेका सार्वजनिक गरेको हो । घटनामा संलग्न लङ्गारे भनिने ईन्द्रजित यादव र सोनु मुराउ फरार रहेका जनाइएको छ।