काठमाडौं। चालू आर्थिक वर्ष २०७७/०७८ को पहिलो ६ महीनामा वीरगञ्ज नाकाबाट करीब ४८ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ भित्रिएको छ।
चालू आवको साउनदेखि पुससम्मको अवधिमा सबैभन्दा बढी डिजेल आयात भएको वीरगञ्ज भन्सार कार्यालयले बताएको छ। नेपालमा खपत हुने पेट्रोलियम पदार्थको करीब आधा परिमाण वीरगञ्ज नाकाबाटै भित्रिन्छ।
भन्सार कार्यालयका अनुसार ६ महीनामा ४७ अर्ब ८७ करोड १७ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। यसमध्ये २३ अर्ब रुपैयाँभन्दा बढीको डिजेल आयात भएको वीरगञ्ज भन्सारका अधिकृत रमेश सुकमनीले जानकारी दिए ।
गत आवको समीक्षा अवधिको तुलनामा डिजेल आयात ३ प्रतिशतले बढेको भन्सारको तथ्यांकले देखाउँछ। कोरोना महामारी र यसको नियन्त्रणका लागि लगाइएको बन्दाबन्दीका कारण शुरूका केही महीना डिजेल आयात घटेकोमा असोज महीनादेखि आयात क्रमशः बढ्न थालेको भन्सारको तथ्यांक छ।
अघिल्लो वर्ष शुरूको ६ महीनामा ४ लाख ९१ हजार किलोलिटर यस्तो इन्धन भित्रिएकोमा यो वर्षको सोही अवधिमा ५ लाख ४ हजार केएल आयात भएको छ।
भन्सारले चालू आवको ६ महीनामा उठाएको कुल राजस्वमध्ये डिजेलबाटै करीब २३ प्रतिशत आएको देखिन्छ। डिजेल आयातबापत नेपाल आयल निगमले वीरगञ्ज भन्सारमा मात्रै १६ अर्ब ६२ करोड रुपैयाँ राजस्व बुझाएको छ।
यो अवधिमा पेट्रोल र एलपी ग्यासको आयात भने घटेको छ। पेट्रोलको आयात परिमाण ११ प्रतिशत र एलपी ग्यास १७ प्रतिशतले बढेको वीरगञ्ज भन्सारले बताएको छ। सरकारले चालू आवदेखि डिजेलको भन्सार दर प्रति केएल १२ हजार रुपैयाँ तोकेको छ।
अघिल्लो वर्षसम्म प्रतिकेएल डिजेलमा यस्तो राजस्व २ हजार रुपैयाँ मात्रै तिर्नु पर्दथ्यो। त्यस्तै पेट्रोलमा १५ हजार २०० रुपैयाँबाट २५ हजार २०० रुपैयाँ पु¥याइएको आचार्यले जानकारी दिए।