सरेको–सर्‍यै छ रेल सञ्चालनको मिति

काठमाडौं। भारतबाट रेल सेट ल्याएको चार महिना बित्न लागे पनि सञ्चालनको अझै अत्तोपत्तो छैन । यसबीचमा चार पटक सञ्चालन गर्ने मिति सरिसकेको छ । रेल सञ्चालनका लागि न कर्मचारी छन्, न त रेलसम्बन्धी कानुन नै । भारत सरकारबाट निर्माण भएका भौतिक संरचना पनि अझै हस्तान्तरण भइसकेको छैन ।

असोज २ मा जयनगर–जनकपुर कुर्था खण्डको ३५ किमि दूरीमा चल्ने भन्दै रेल सेट भित्र्याइएको थियो । दुवै सेट जनकपुरको इनर्वा स्टेसनमा सशस्त्र प्रहरीको बेसक्याम्प अघि पालले छोपेर राखिएको छ । यसको रेखदेख सशस्त्र प्रहरीले गर्दै आएको छ । कहिलेबाट रेल चल्छ भन्नेमा नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराई आफैं अनभिज्ञ छन् । तयारी पूरा भए पुस अन्तिमसम्म सञ्चालनमा आउने कम्पनीको भनाइ थियो । तर माघको आधा बित्न लाग्दा पनि चल्ने सुरसार देखिँदैन ।

भारतको कोंकण रेलवे कर्पोरेसन लिमिटेडलाई नेपाल सरकारले ८४ करोड ६५ लाख रुपैयाँ दिएर रेल सेट निर्माण गर्न लगाएको हो । उक्त रकमको ५ प्रतिशत धरौटीका रूपमा राखिएको छ । अन्य रकम भने भुक्तानी गरी सकिएको महाप्रबन्धक भट्टराईले बताए । अहिले कोंकणकै प्राविधिकले रेल नचलाउँदासम्म प्राविधिक जाँच गर्दै आएका छन् ।
अन्य सम्बन्धित समाचार:  पहाडी भू–भागमा मेघगर्जनसहित वर्षा हुने