गंगामायालाई अनशन तोड्न सरकारको आग्रह

काठमाडौं। कठमाडौंस्थित वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीलाई अनशन तोड्न सरकारले आग्रह गरेको छ।

छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाहीको माग राख्दै अनशनरत अधिकारीलाई भेटेर गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, कानुन मन्त्रालयका सचिव ऋषि राजभण्डारी, प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री र काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अनशन तोड्न आग्रह गरेका हुन्।

तर गंगामायाले अपराधीलाई कारबाहीको दायरामा नल्याएसम्म अनशन नतोड्ने जानकारी गराएको भेटमा सहभागी काठमाडौंका प्रजिअ पराजुलीले बताए ।

पहिले मलाई धेरै नै झुक्याइयो, न्याय पाइन्छ भनेर जबर्जस्ती खुवाइयो, तर भएको चाहिँ केही होइन’ उनले भनिन् । गंगामायाले अनशनमा बस्दाकै अडान बुधबार सरकारी अधिकारीलाई पनि दोर्होयाएकी हुन् ।

गोरखा फुजेलकी गंगामायाका १७ वर्षीय कान्छा छोरा कृष्णप्रसाद अधिकारीलाई तत्कालीन विद्रोही माओवादी कार्यकर्ताले चितवनमा अपहरण गरी २०६१ जेठ २४ गते हत्या गरेका थिए । त्यसपछि गंगामाया र उनका पति नन्दप्रसाद अधिकारीले छोराको हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेका थिए ।

अन्य सम्बन्धित समाचार:  टिपरको ठक्करबाट एक जनाको मृत्यु

तर, कतै पनि सुनुवाइ नभएपछि उनीहरू काठमाडौं आएर २०७० साउनदेखि प्रधानमन्त्री कार्यालय बालुवाटार अगाडि सडकमै अनशन बस्न सुरु गरे ।