अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेश अग्रवाल काठमाडौंबाट पक्राउ

काठमाडौं। सरकारले तोकेको समयमा उखु किसानको रकम भुक्तानी नगरको भन्दै अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिजका सञ्चालक राकेश अग्रवाल काठमाडौंबाट पक्राउ परेका छन्।

इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासीका समेत सञ्चालक रहेका उनलाई काठमाडौंको त्रिपुरेश्वस्थित कुमारी मार्गबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिए।

उनीविरुद्ध पश्चिम नवलपरासी र सर्लाही जिल्ला अदालतबाट ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि पक्राउ गरिएको र उनलाइ समबनिधत ठाउँमा बुझाउने तयारी भएको बस्नेतले जानकारी दिए।

किसानहरूले चिनी मिलबाट पाउनुपर्ने रकम भुक्तानीको माग राख्दै गत मंसिर २८ गतेबाट आन्दोलन सुरु गरेका थिए । लामो समयसम्मको आन्दोलन पछि पुस १३ गते उखु किसान संघर्ष समिति र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सम्झौता भएको थियो ।

उद्योग मन्त्रालयका प्रतिनिधि र किसानबीच भएको उक्त सम्झौतामा चिनी उद्योगीले किसानलाई तीन हप्ता अर्थात् २१ दिनभित्र सबै रकम तिरिसक्नुपर्ने उल्लेख थियो। तर सम्झौताको समयावधि माघ ५ गते नै सकिँदा पनि किसानहरूले अझै सबै रकम पाएका छैनन् ।

१७ करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको उक्त मिलले किसानलाई मङ्गलबारसम्म १० करोड ८८ लाख भुक्तानी गरेको गृह मन्त्रालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  एकैपटक ३४ शिक्षक सरुवापछि मुद्दा