बुटवलमा प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शन

रूपन्देही। बुटवलमा प्रचण्ड–माधव पक्षको प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंवैधानिक कदमको विरुद्धमा प्रदर्शनसहित विरोध सभा सुरु भएको छ। उक्त सभामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पनि उपस्थित भएका छन्।

नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीको आयोजनामा भएको सभामा बुटवलका विभिन्न चोकहरूबाट जुलुससहित लुम्बिनी प्रादेशिक अस्पतालको उत्तर तर्फको जग्गामा सभा जारी छ।

सभामा नेकपाका स्थायी कमिटी सदस्य वर्षमान पुन, चक्रपाणी खनाल, नेकपा लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्ती लगायतले सम्बोधन गरेका छन्। उनीहरूले प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नरहेको र नहुँदासम्म आन्दोलन जारी राख्नुपर्ने दाबी गरे।

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर छिन्नभिन्न पारेको भन्दै अब केपी ओली विहीन कम्युनिष्ट पार्टी निर्माण गर्ने अभियानमा आफूहरू लागेको सभामा नेकपाका स्थायी कमिटी सदस्य तथा प्रचण्ड–माधव ​​​​​​​पक्षका लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवालीले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  देउवासँग मिलेर संयुक्त सरकार बनाउन प्रचण्ड र माधवको प्रस्ताव