जाडोले मध्य तथा पूर्वी तराईमा पुस यता चार जनाको मृत्यु

धनुषा। पुसको अन्तिम सातादेखि लगातार चलिरहेको शीतलहर र बाक्लो हुस्सुसँगै बढेको जाडोले मध्य तथा पूर्वी तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ। पुस यता प्रदेश नं. २ मा चिसोका कारण चार जनाको मृत्यु भइसकेको छ।

दुई सातादेखि घाम नलागेपछि चिसो अत्यधिक बढेको छ। जाडोमा खासगरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित छन्। कठ्याङ्ग्रिदो जाडो, चिसो सिरेटो तथा शीतलहरका कारण प्रदेश नं. २ मा पुसयता चार जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।

मृत्यु हुनेमा चिसो र शीतलहरबाट सर्लाहीको हरिपूर्वा–४ का २४ वर्षीय रोजाई शेख, सिरहा कर्जन्हा–३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो, बरियापुर–१ का ८५ वर्षीया प्रयागी देवी साह र मिर्चैया–७ का ८ वर्षीय बालक जाबिर राइन छन्। लगातार घाम नलागेका कारण पुसको तुलनामा माघमा चिसो बढेको छ।

तराईमा पुसको पहिलो हप्तादेखि माघको अन्तिमसम्म बढी जाडो हुन्छ। यसपटक पुसको अन्तिम सातादेखि शीतलहरको कहर शुरु भएको हो। बिहान र साँझ चिसो अत्यधिक छ। दिउसो घाम नलाग्दा आर्थिक स्थिति कमजोर हुने तराईका मुसहर र डोमजस्ता विपन्न समुदायका लागि शीतलहर कहर मात्रै नभइ ‘काल’ बन्ने गरेको छ।

परालकाे सहारामा रात काट्दै

विपन्न गरिब समुदायको सिरक डसना भनेकै पराल हो। क्षीरेश्वरनाथ नगरपालिका–३ का ५५ वर्षीय पचु मुसहरले भने, “पराल ओछ्याएर सुते पनि माथि खरकै छानो भएकाले जबजब रात छिपिँदै जान्छ, शीत छानाबाट तप तप चुइँन थाल्छ, राम्रोसँग निदाउन सकिँदैन।”

शीतलहरले गरिबको दैनिकी प्रभावित गरेको छ। दैनिक कामगरी खाने मजदूर बिहानबेलुका बाहिर निस्कन सकेका छैनन्। शीतलहरको प्रकोप बढ्न थाले पनि स्थानीय सरकारले गरीब तथा विपन्नलाई कसरी जाडोबाट बच्ने भन्ने न सूचना दिएका छन्, न त कुनै राहतका कार्यक्रम नै सार्वजनिक गरेका छन्।

अन्य सम्बन्धित समाचार:  सांसदहरुलाई प्रचण्ड–माधव पक्षले छलफलका लागि बोलायो

शीतलहरले गरिबको दैनिकी प्रभावित

शीतलहरले गरिबको दैनिकी प्रभावित गरेको छ। दैनिक कामगरी खाने मजदूर बिहानबेलुका बाहिर निस्कन सकेका छैनन्। शीतलहरको प्रकोप बढ्न थाले पनि स्थानीय सरकारले गरीब तथा विपन्नलाई कसरी जाडोबाट बच्ने भन्ने न सूचना दिएका छन्, न त कुनै राहतका कार्यक्रम नै सार्वजनिक गरेका छन्।

“रिक्सा पेल्न बजार ननिस्किए चुलो नबल्ने चिन्ता, निस्किए कठ्याग्रिदो चिसोले ज्यानै जाने डर छ”, जनकपुरधाम उपमहानगरपालिका–२ का ठेला चलाउने रामप्रवोध सदाले भने। उनले ठेला चलाएर थोरै आम्दानी हुने भएकाले छोराछोरीका लागि बाक्लो लुगा किन्न नसकेको बताए। उनी भन्छन्, “न्यानो कपडा नहुँदा घरमा पराल ओछ्याएर रात काट्ने गरेको छु, हाम्रो पीडा सरकारसमक्ष पु¥याइदिनुस्।”

यता जनता आवास कार्यक्रमले प्रदेश नं २ का जिल्लाका दलितको झुपडी भत्काएर दुई कोठे पक्की घर निर्माण गर्न लागे पनि त्यस्ता घरको छाना, झ्याल र ढोका नहुँदा अवस्था झनै दयनीय छ। जनता आवासले दुई वर्षअघि घर बनाउन थाले पनि छाना नहाल्दा चिसोमा पाल टाँगेर बस्न बाध्य हुनुपरेको महोत्तरी भङ्गाहा नगरपालिकाका मुसहर बस्तीका रामपृत सदाले बताए।

चिसोकै कारण तरकारी खेती पनि प्रभावित

चिसोकै कारण तरकारी खेती पनि प्रभावित हुन थालेको छ। धान थन्काउने तथा गहुँ र तोरी छर्ने चटारोमा रहेका किसानलाई समेत समस्या भएको छ। आलुबालीको पात तुषारोका कारण गल्नसक्ने सम्भावना भएको किसानहरुले बताएका छन्। कृषि क्षेत्रमा मौसमको प्रतिकूलताले नोक्सान हुने सम्भावना बढेको छ। शीतलहरले आलु र गोलभेंडाका बोट नष्ट हुन थालेका छन्।

अन्य सम्बन्धित समाचार:  पशुपतिमा जलहरी राखिसकेपछि सर्वोच्चले भन्यो–जलहरी नराख्नू

मिथिला नगरपालिकाका किसान राम उदगार महतोले आलु र गोलभेंडा फल्ने बेलामा ह्वात्तै बढेको चिसो र शीतलहरका कारण रोग लागेर बिरुवा नै सुक्न थालेपछि मर्कामा परेको बताए। उनले गोलभेँडा र आलुमा डढेलो, तोरी र सिमीमा पात सुख्ने र काउलीको भित्री डाँठ नै कुहिन थालेको बताए।

खाद्य तथा पोषण सुरक्षा आयोजना जनकपुरधामका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत सुकेश्वर झाले बाक्लो कुहिरोसँगै चलेको शीतलहरले तेलहन, दलहन तथा तरकारी बालीमा समस्या हुने जानकारी दिए।

अस्पतालमा बिरामीको चाप

चिसो बढेसँगै प्रादेशिक अस्पताल जनकपुरधाम र विभिन्न स्थानीय तहको स्वास्थ्यचौकीमा बिरामीको चाप पनि बढेको छ। चिसोसँगै भाइरल ज्वरोको प्रकोप अझै बढ्ने सम्भावना देखिएको छ। सम्पन्न व्यक्तिभन्दा विपन्न वर्गमा शीतलहर र भाइरल ज्वरोको प्रकोप देखिएको छ। बढ्दो चिसोका कारण स्वास्थ्य संस्थामा कोल्ड डाइरिया, ज्वरो, रुघाखोकी र स्वाशप्रश्वासका बिरामीको सङ्ख्या बढेको विभिन्न अस्पतालले जनाएका छन्।

प्रादेशिक अस्पताल जनकपुरधामका चिकित्सक डा. जामुनप्रसाद सिंहका अनुसार चिसोबाट जोगिन धुवाँ–धूलोबाट बच्ने, न्यानो लुगा लगाउने, पोषणयुक्त सन्तुलित खाना खाने, भिटामिन सी पर्याप्त मात्रामा भएको र मौसमअनुसारका ताजा फलफूल तथा सागपात पर्याप्त मात्रामा खाने, सरसफाइमा बढी ध्यान दिने तथा प्रशस्त मात्रामा तातो झोल पदार्थ खाने गर्नुपर्छ।

डा सिंह भन्छन्, “यसका अतिरिक्त धुलोधुवाँ, चिसो र सङ्क्रमणबाट जोगिन मास्क लगाउने गर्नुपर्छ। शरीर तथा कोठा न्यानो बनाउने निहुँमा धूमपान, मद्यपानको सेवन गर्ने, झ्याल, ढोका थुनेर गुइँठा, दाउराको आगो बाल्ने गर्नुहुँदैन । बिरामी र केटाकेटीका लागि चिसो खतरा हुन्छ। चिसो र हुस्सुबाट जोगिन खानपिनमा पनि विशेष ध्यान दिनु जरुरी छ।”