प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी प्रवेश

काठमाडौं। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको चौथो संस्करणको फाइनलमा त्रिभुवन आर्मी क्लब प्रवेश गरेको छ। बिहीबार भएको दोस्रो सेमिफाइनलमा आर्मीले बागमती प्रदेशलाई ९४ रनले पराजित गरेको हो।

आर्मीले अब उपाधिका लागि अर्को विभागीय टोली एपीएफसँग खेल्नेछ। एपीएफले पहिलो सेमिफाइनलमा साविक विजेता नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा भएको सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले राजेश पुलामीको अर्धशतक मद्दतमा पूरै ५० ओभर खेल्दा १० विकेट गुमाएर २२९ रन बनाएको थियो ।

जवाफमा बागमतीले ४०.२ ओभर खेल्दै सबै विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो। बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्ले सर्वाधिक ४७ रन बनाए। लक्ष्य पछ्याउने क्रममा खराब सुरुवात गरेको बागमतीले निरन्तर विकेट गुमाउँदा अलआउट भयो।

अन्य सम्बन्धित समाचार:  रोमाञ्चक जितसँगै बार्सिलोना फाइनलमा

२३० रनको लक्ष्य पछ्याउ ब्याटिङ गरेको बागमतीको सुरुवात राम्रो हुन सकेन। बागमतीले पहिलो १० ओभरमा जम्मा २६ रन बनाउँदा सुरुवाती ५ विकेट गुमाएको थियो।

त्यसअघिका आर्मीका लागि राजेश पुलामी मगरले सर्वाधिक ६५ रन बनाएका थिए। खेलमा लोहर अर्डरले राम्रो ब्याटिङ गर्दै आर्मीको लागि सम्मानजनक स्कोर तयार पार्न सहयोग गरे। भिम सार्कीले ४० र विक्रम सोबले ३५ रन जोडे।

सातौं विकेटका लागि राजेश र विक्रमले ९२ रनको साझेदारी गरे। बागमतीका लागि गौतम केसीले सर्वाधिक ५ विकेट लिए।