गौवध गरेकाे भन्दै नगर प्रहरी निरीक्षकसहित १० जनालाई जेल सजाय

सुर्खेत। गौवध मुद्दामा सुर्खेत जिल्ला अदालतले नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षकसहित १० जनालाई जेल सजाय तोकेको छ। मुद्दामा प्रतिवादी बनाइएका ट्रान्सपोर्ट सञ्चालकसहित ७ जनाले भने सफाइ पाएका छन् ।जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले बुधबार मुलुकी अपराध संहिताको २८९ अनुसार न्यूनतम ३ महिनादेखि डेढ वर्षसम्म जेल सजाय तोकेको हो। सबैभन्दा बढी सजाय नगर प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीलाई डेढ वर्ष तोकिएको छ।

नगर प्रहरी सहायक निरीक्षक विकास गौतमलाई १ वर्ष कैद तोकिएको छ। नगर प्रहरी जवानहरु कमल बयक, सुवर्ण तारामी मगर, सुशान्त शाही र चन्द्रबहादुर रानालाई ६/६ महिना जेल सजाय तोकिएको छ । नगर प्रहरी जवान पवनकुमार कनोजियालाई ५ महिना, नगर प्रहरी जवानद्वय राकेश भारती, धर्मेन्द नेपाली र फायरम्यान कमल थापा मगरलाई ३/३ महिना जेल तोकिएको छ।

२०७६ भदौ १३ गते नेपालगन्ज उपमहानगरपालिकाद्वारा सञ्चालित कान्जी हाउसमा रहेका गाई/गोरु र बाच्छा/बाच्छी दैलेख लैजाने क्रममा ३९ वटा रत्न राजमार्गको सुर्खेत खण्डमा मरेका थिए। ८ वटा ट्रकमा ल्याइएका २ सय ९१ मध्ये अन्य गाई/गोरु र बाच्छा/बाच्छी सडकमै अलपत्र छाडिएका थिए।

गाई ओसार्नको लागि ट्रक उपलब्ध गराउने गुड्स क्यारियर ट्रान्सपोर्टका सञ्चालक सन्तृप्त सिंह श्रेष्ठ र ट्रक चालकहरु हिमबहादुर जिसी, दामोदर केसी, शत्रुधन चौधरी, सागर विश्वकर्मा र सहचालकहरु विवेक कुँवर, कृष्णबहादुर बिसीले सफाइ पाएका छन्।

अनुसन्धानको दायरामा तानिएका बाँकेका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्याय, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणा, नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल र जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाको हकमा भने जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो।