कोपा इटालियाको सेमिफाइनलमा पुग्यो नेपोली

काठमाडौं। नेपोली कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा स्पेजियामाथि ४–२ को सहज जित निकाल्दै नेपोलीले अन्तिम चारको यात्रा तय गरेको हो ।

घरेलु मैदानमा नेपोलीको जितमा कालीडोउ कोउलीबेली, हिर्भिङ लोजानो, माटियो पोलिटानो र इल्जिफ इल्मासले गोल गरे । स्पेजियाका इमानुयल क्वार्टसिन ग्यासी र जेनारो एकाम्पोराले सान्त्वना गोल फर्काए ।

नेपोलीले स्पेजियाविरुद्ध पहिलो हाफमै चार गोल गरेको थियो । खेलको पाँचौ मिनेटमा नै कालीडोउ कोउलीबेलीले गोल गर्दै नेपोलीलाई अग्रता दिलाए । २०औं मिनेटमा डिएगो डिम्मीको पासमा हिर्भिङ लोजानोले गोल गर्दै नेपोलीको अग्रता दोब्बर पारे ।

३०औं मिनेटमा माटियो पोलिटानोले पियोटर जिलेन्स्कीको पासमा गोल गर्दै नेपोलीलाई ३–० को अघि बढाए । ४०औं मिनेटमा इल्जिफ इल्मासले लोरेन्जो इन्सिग्नेको पासमा गोल गर्दै नेपोलीलाई पहिलो हाफमै ४–० को फराकिलो अग्रता दिलाए ।

अन्य सम्बन्धित समाचार:  युरोपा लिग फुटबल: म्यानचेस्टर युनाइटेड र भिल्लारियल फाइनलमा

दोस्रो हाफमा स्पेजियाले पूनरागमन प्रयास गर्दै दुई गोल थपेपनि हार टार्न सकेन । ७०औ मिनेटमा इमानुयल क्वार्टसिन ग्यासीले जेनारो एकाम्पोराको पासमा गोल गर्दै खेललाई ४–१ को अवस्थामा ल्याए ।

७३औं मिनेटमा लियो सेनाको पासमा जेनारो एकाम्पोराले गोल गरेपछि खेल ४–२ को अवस्थामा आएको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा नेपोलीले जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्न सफल भयो ।