शहीदका सपनालाई विपनामा रुपान्तरण गरौं: देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शहीदका सपनालाई विपनामा बदल्ने संकल्प गर्न आह्वान गरेका छन्।

शुक्रबार शहीद दिवसको अवसरमा सन्देश दिँदै सभापति देउवाले देश र लोकतन्त्रको हित रक्षाको निमित्त सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तर गर्न संकल्प गर्न भनेका हुन्। उनले भने, आज शहीद दिवसको अवसरमा देश र लोकतन्त्रको हित रक्षाको निमित्त हामीले आफ्ना सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तर गर्न संकल्प गरौं।’

मुलुकले सुम्पिएको राष्ट्रिय जिम्मेवारी पूरा गर्न र नेपाललाई एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत गर्नका लागि जिम्मेवार हामी सबै पक्षलाई शहीद दिवसले प्रेरणा प्रदान गर्ने विश्वास देउवाले व्यक्त गरेका छन्। लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको वैयक्तिक स्वतन्त्रता र स्वाभिमानको रक्षा हुने बताउँदै उनले यसबाट नै विद्यमान विसंगतिको अन्त्य हुने र राष्ट्रले दु्रततर रुपमा विकास निर्माणका कार्यहरु गर्ने उल्लेख गरेका छन्।

अन्य सम्बन्धित समाचार:  महन्थको विज्ञप्तिः जसपाको कुनै बैठक बाेलाइएको छैन

सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाल एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत हुनेछ भन्ने परिकल्पना र विश्वासमा वीर सपुतहरुले आफूलाई सहर्ष उत्सर्ग गरेको सभापति देउवाले स्मरण गरेका छन्।