भारतसँग जोडिएका सुदूरपश्चिमका सबै नाका खोल्ने सरकारको निर्णय

काठमाडौं। भारतसँग सिमा जोडिएका सुदूरपश्चिमका सबै सीमानाका शुक्रबारदेखि खुलेका छन्। सरकारले देशभरिका ३० नाका खोल्ने निर्णय गरेसंगै भारतसँग जोडिएका सुदूरपश्चिमका ४ नाका खुलेका हुन्।

मन्त्रिपरिषद्को निर्णयका आधारमा गृह मन्त्रालयले सीमा नाका खुला गर्ने निर्णय गरेको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए।

सुदूरपश्चिमका बैतडीको झुलाघाट, दार्चुलाको खलङ्गा/पुलघाट, कैलालीको गौरिफन्टा, कञ्चनपुरको गड्डाचौकी, नाका पूर्ण रुपमा खुला गरिएको मन्त्रालयले जनाएको छ।

नाका खुलेसँगै दुवै देशका नागरिकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गरि अब सहज आवतजावत गर्न सक्नेछन्। तर सिमानाकाबाट तेस्रो देशका नागरिकलाई भने प्रवेश अनुमति नदिइएको मन्त्रालयले जनाएको छ।

नेपाली पक्षको तर्फबाट झुलाघाट नाका खुला रहेको भएपनि भारतीय पक्ष अझै तयार भइसकेको छैन।

अन्य सम्बन्धित समाचार:  अमरगढीका मेयर र उपमेयरले आफू चढ्ने गाडीलाई बनाए एम्बुलेन्स