क्यानडा पठाइदिने प्रलोभनमा पारेर ठगी गर्ने पक्राउ

सामूहिक

पाेखरा। प्रहरीले क्यानडा पठाइदिने प्रलोभनमा पारेर ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ।पर्वतको मोदी गाउँपालिका–७ घर भई हाल पोखरा महानगरपालिका–३० शिशुवा बस्ने ३८ वर्षीय धिरजकुमार विश्वकर्मालाई पक्राउ गरेको हो।

पीडित व्यक्तिको जाहेरीका आधारमा विभिन्न ३३ व्यक्तिलाई क्यानडा वैदेशिक रोजगारमा पठाउने बहानामा रु ९० लाख ७१ हजार ५०० ठगी गरेको अभियोगमा गत माघ १३ गते पोखरा–१० रामबजारबाट विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवंम प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।

प्रहरीका अनुसार अभियुक्त विकले आफू विगत लामो समयदेखि विदेश बसेको र युरोप, क्यानडा, अमेरिकालगायतका देशमा धेरै मानिस रोजगारको लागि पठाइसकेको भनेर विश्वास दिलाइ कास्की, स्याङ्जा, तनहुँ, म्याग्दीलगायतका जिल्लाका युवालाई ठगी गरेको पीडितले दिएको निवेदनबाट पुष्टि भएको हो।

पीडितहरूलाई विश्वासमा पार्नका लागि आरोपित विकले विभिन्न सहकारी संस्था र विकास बैंकको चेकसमेत दिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रनाउ हमालले बताए। 

पक्राउ परेका विकलाई जिल्ला अदालतबाट ठगीसम्बन्धी कसुरअन्तर्गत पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। 

अन्य सम्बन्धित समाचार:  काठमाडौं उपत्यकामा थपियो १५ दिन निषेधाज्ञा