भारतीय नागरिकले नेपाल आउन गृह मन्त्रालयको स्वीकृति लिनुपर्ने

काठमाडौं। भारतीय नागरिकले नेपाल आउन अब गृह मन्त्रालयको स्वीकृति लिनुपर्ने भएको छ। सरकारले शुक्रबारबाट नेपाल–भारतसँग जोडिएका सीमानाका खुला गरेसँगै नेपाली नागरिकले सहज रूपमा प्रवेश पाउने भए पनि भारतीय नागरिकले नेपाल प्रवेश गर्दा अनिवार्य स्वीकृति लिनुपर्ने भएको हो।

भारतीय नागरिक के प्रयोजनका लागि नेपाल आउने हो, सबै कारण खुलाएर गृहको स्वीकृतिपछि मात्रै प्रवेश पाउने गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए।

सरकारको निर्णयपछि कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको खलङ्गा नाका शुक्रबारबाट पूर्ण रूपमा सञ्चालनमा आएका छन्। यसअघि, सरकारी निर्णयमा नाका बन्द भए पनि आवतजावत भने भइरहेको थियो।

सरकारले कोरोनाभाइरसको जोखिम नियन्त्रणका लागि भन्दै गत चैत ११ गतेदेखि नेपाल–भारत सीमानाका बन्द गर्ने निर्णय गरेको थियो।

अन्य सम्बन्धित समाचार:  कोरोना महामारीमा निजी अस्पतालको कमाउ धन्दा