नेकपाको कुनै गुटलाई आधिकारिता दिएका छैनौं: निर्वाचन आयोग

काठमाडौं। निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपाको कुनै एउटा समूहलाई आधिकारिता प्रदान नगरेको प्रष्ट पारेको छ। शुक्रवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै आयुक्त ईश्वरी पौडेलले आयोगले कुन समूह आधिकारिक हो भनेर निर्णय गरिनसकेको बताएका हुन्।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगले अहिलेलाई नेकपाका दुईजना अध्यक्ष मात्रै चिन्ने बताए। उनले २०७५ जेठ ३ गते निर्वाचन आयोगमा दर्ता भएको नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई मात्रै चिन्ने स्पष्टीकरण दिएका छन्।

निर्वाचन आयोगमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को उपदफा २ अनुसार कुनै पनि समूह निवेदन लिएर नआएको आयुक्त नरेन्द्र दाहालले जानकारी दिएका छन्। ‘२०७५ जेठ ३ गते दर्ताका लागि पेश गरिएका कागजात नै हाम्रा लागि आधिकारिक हुन्। हामीले दुवै समूहलाई त्यसपछिका डकुमेन्ट अपडेट गर्न सक्दैनौँ भनेका छौँ,’ उनले भने, ‘यसअघि नै पेश भएको ४४१ सदस्यीय केन्द्रीय समितिको विवरण नै आयोगमा छ। हामीले त्यसैलाई आधिकारिक मान्छौँ।’

अन्य सम्बन्धित समाचार:  सुदूरपश्चिम प्रदेशका प्रकाश बहादुर शाहलाई दुई मन्त्रालय

दाहालले दलहरु आधिकारिकताका लागि आयोग नै नआएको बताए। ‘दुवै समूह आधिकारिकताका लागि निवेदन लिएर आएका छैनन्, उनले भने, ‘आयोगले त पार्टी फुटाउने कुरा हुँदैन। अहिलेलाई हामी २०७५ जेठ ३ मै दर्ता भएको नेकपाका दुई अध्यक्षलाई मात्रै चिन्छौँ।’

दाहालले पुस ५ भन्दा पहिलेको कागजात अनुसार आयोगको नजरमा एउटै पार्टी कायम रहेको बताए। ‘२८७ जनाको हस्ताक्षर सहित अपडेटको लागि निवदेन दिएको हो,’ उनले भने, ‘४ सय ४१ जनाको हस्ताक्षरसहितको कुरा परिवर्तन गरिएको छैन। आधिकारिकताका लागि दुवै पक्षले निवेदन दिएकै छैनन्।’