म निसन्तान भइनँ के त्यो मेरो दोष होः प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई न्याय चाहिएको बताएका छन्। शुक्रवार प्रदेश १ को विराटनगरमा प्रचण्ड नेपाल समूहले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले छोराछोरीका लागि मात्र सोचेको भन्ने आरोप लगाएर आफूमाथि अन्याय भइरहेको गुनासो गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले आफ्ना छोराछोरीका लागि मात्रै सोचेको भन्ने आरोप लगाएकोमा त्यसको जवाफ दिँदै प्रचण्डले भने, ‘तैँले त छोराछोरीका लागि मात्र सोचिस् भन्दै हिँड्याछन्। मैले एउटा टेलिभिजन अन्तर्वार्तामा पनि भनेको थिएँ, सुन्न पाउनुभयो कि भएन, म नपुंसक भइनँ, म निसन्तान भइनँ के त्यो मेरो दोष हो ? मेरा छोराछोरीलाई पढ्न अमेरिका पठाइनँ, सँगै लिएर हिँडे त्यो मेरो दोष हो? गणतन्त्रको लडाईं लड्दा मेरा छोराछोरी रोल्पाको जंगलमा बन्दुक बोकेर हिँडे, के त्यो मेरो दोष हो?’

अन्य सम्बन्धित समाचार:  माधव नेपालको प्रष्टीकरणः लोकतन्त्र सुरक्षित गर्न ओलीलाई विश्वासको मत दिएनौं (पूर्णपाठ)

प्रधानमन्त्री ओलीले आफूमाथि अत्याचार गरेको भन्दै प्रचण्डले थपे, ‘अत्याचार हुन लाग्यो, ओलीले अत्याचार गर्न खोजे, म न्याय चाहन्छ आदरणीय जनसमुदायहरू।’

गएको चुनावका बेलामा आफ्ना छोरीको र छोराको निधन भएपनि आफू देश र जनताका लागि क्रियाशील रहेको भन्दै प्रचण्डले मेरा लागि सबै युवा प्रकाश (प्रचण्डपुत्र प्रकाश दाहाल) भएको बताए।