प्रचण्ड–नेपाल समूहको विरोधसभा आज धनगढीमा

धनगढी। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहले आज धनगढीमा विरोधसभा गर्दैछ।

खुलामञ्चमा दिउँसो १२ बजेदेखि विरोधसभा को आयोजना गर्न लागेको नेकपा सुदूरपश्चिमले जनाएको छ। विरोधसभालाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

यस्तै प्रदेश इन्चार्ज भीम रावलले पनि विरोधसभा लाई सम्बोधन गर्ने नेकपाले जनाएको छ। विरोधसभा सुरु हुनुपूर्व धनगढी चौराह देखि खुलामञ्च सम्म र्याली समेत निकालिने बताइएको छ।

सुरक्षा ब्यबस्था कडा
विरोधसभा लक्षित सुरक्षा ब्यवस्था कडा पारिएको छ। खुलामञ्चमा आयोजना हुने सभालाई सम्बोधन गर्न दुईजना पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आउने भएपछि सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले शंकास्पद व्यक्तिमाथि चेकजाँच समेत गरिरहेको छ। यस्तै धनगढी विमानस्थलको सुरक्षा व्यवस्थामा समेत कडाइ गरिएको छ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीको सपथमा यसो भन्छन् बाबुराम