कस्ताे बन्ला ऋतिक र दीपिका अभिनित रामायण ?

एजेन्सी। निर्देशक रामानन्द सागरले १९८७ मा पहिलो पटक रामायण ग्रन्थमा टेलिभिजन शृङ्खला रामायण बनाएका थिए। त्यसबेलाको यो सबैभन्दा चर्चित रहेको थियाे। हरेक बिहीबार बेलुका उक्त शृङ्खला हेर्न नेपालमा टेलिभिजन हुनेहरुकाे घरमा छरछिमेककाे घुँइचो नै लाग्थ्यो।

१९८७ मा ‘रामायण’ सिरिएलको प्रसारण पहिलो पटक दूरदर्शन टिभीबाट भएको थियो। उक्त सिरिएललाई नेपाल टेलिभिजनले समेत नेपाली दर्शकमाझ पस्केकाे थियाे। अब बलिउड ‘रामायण’ माथि चार सय करोडमा फिल्म बन्ने भएकाे छ।

निर्माता मधु मेन्टाना आफ्नो नयाँ फिल्म ‘रामायण’ लाई लिएर उत्साहित छन्। उनले फिल्मको माध्यमबाट ठूलो पर्दामा ‘रामायण’ को भव्य प्रस्तुती देखाउन चाहेका छन्। फिल्मका लागि भगवान रामको रोलमा ऋतिक रोशन र सिताको रोलमा दीपिका पादुकोण फाइनल भएको भारतीय मिडियाको दाबी छ।

‘रामायण’ को निर्देशन ‘दंगल’ फेम्ड निर्देशक नितेश तिवारीले गर्दैछन्। यसलाई हिन्दीसँगै तमिल र तेलगु भाषामा पनि रिलिज गर्ने तयारीमा निर्माण टिम छ।

फिल्मलाई अल्लु अरविन्द, नमित मल्होत्रा र मधु मेन्टानाले मिलेर निर्माण गर्दैछन्। यसमा भिएफएक्स र भिजुअल इफेक्टको अत्याधिक प्रयोग हुनेछ । निर्देशक तिवारीका अनुसार, फिल्ममा रावण तर्फको कथालाई देखाइनेछ।