केपी ओलीले संसद् विघटन गरेर इतिहासमा कलङ्कको टीका लगाए: प्रचण्ड

प्रचण्ड चुनाव

कैलाली। सामन्ती राज्यव्यवस्थाले सुदूरपश्चिमलाई जहिले हेपे पनि अव त्यो नहुने नेकपा (दाहाल–नेपाल)  समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बताएका छन्। धनगढीमा आफू पक्षीय विरोधसभालाई शनिबार सम्बोधन गर्दै उनले भने, ‘सुदूरपश्चिमका जनता महान छन्,’ धनगढीमा अस्ति आउँदा अलि फुलेका केपीलाई तपाईंहरू सडकमा आएर यहाँ पनि एक तिहाइ पुग्दैन भन्ने देखाएर फुच्चे बनाउनुभयो, धन्यवाद दिन चाहन्छु।’ ‘कुनै निरंकुश तत्वमाथि जागेका जनतालाई कसैले झुकाउन सक्दैन,’ उनले थपे। सुदूरपश्चिमका जनता झुक्दैनन् भन्ने सन्देश आफूले विश्वमा पुर्‍याउने  समेत प्रचण्डले बताए।

केपी ओलीले तीन वर्ष नपुग्दै आफैले बनाएको संविधान कुल्चेर संसद् विघटन गरेर इतिहासमा कलङ्कको टीका लगाएको उनकाे आराेप थियाे। उनले भने, “हामी यहाँ उखान टुक्का भन्न आएका हैनाैँ , न अनावश्यक जोकर पाराको कुरा नै गर्न आएका हाैँ। हामी जनताको समृद्धि र देशको विकास कसरी गर्ने भन्नेमा  केन्द्रित रहेका छाैं।”

विराेधसभामा संविधानले संसद् विघटन गर्ने कुनै अधिकार केपी ओलीलाई नदिएको प्रचण्डको भनाइ छ। उनले भने , “केपी ओलीले संसद् विघटन भयो भने पनि संसद् विघटन भएको छैन, साथी हो, हामी मरेका छैनौ। केपी ओलीले जवरजस्त संसद् विघटन भयो भन्दैमा विघटन नभएको उनको जिकिर थियो।

अदालतले लोकतान्त्रीक मान्यता विपरीत निर्णय नगर्ने भन्दै उनले संसद् विघटन नभएको बताए। उनले भने, केपी सरकारमात्रै यतिखेर विघटन भएको हो। 

विरोधसभामा उनले सभामुखले बैठक बोलाउने र दुईतिहाइ सांसद्ले प्रधानमन्त्रीलाई कारबाही गर्ने हैसियत राख्ने जिकिर गरे। विघटित प्रतिनिधिसभाका अधिकांश सांसद् संसद् पुनःस्थापनाको पक्षमा रहेको उनले दाबी गरे। प्रधानमन्त्री ओलीले जनताको सार्वभौम अधिकारमाथि कुल्चिएको आरोप उनले लगाए । उनले ओलीलाई ‘कम्युनिस्ट पार्टीभित्र घुसेका सामन्तका एजेन्ट’को संज्ञा पनि दिए।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीलाई पुनः शपथ गराउन जसपाको माग

उनले पछिल्लो समय देखिएको प्रतिगमन र प्रतिक्रान्तिको खतराको विरुद्धमा जनता जुर्मुराएको देखेर खुसी लागेको पनि बताए।