माधव नेपाल र म पञ्चायतविरोधी लडाइँमा पनि सँगै थियौं: प्रचण्ड

कैलाली। नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल र आफूबीचको चिनजान ४० वर्षदेखिको भएको उल्लेख गरेका छन्। धनगढीमा आफू पक्षीय विरोध सभामा बोल्दै प्रचण्डले नेपालसँग ४० वर्षदेखिको सहकार्य भएको बताएका छन्। 

उनले भने, ‘तपाईँहरूलाई लाग्दो हो, कमरेड माधव र तपाईँहरूको भर्खरै चिनजान भएको हो कि। त्यस्तो होइन। हामी ४० वर्षदेखि सँगै छौं। पञ्चायतविरोधी लडाइँमा पनि हामी सँगै थियौं।’

माओवादी जनयुद्धका क्रममा पनि आफूहरूबीच भूमिगत रुपमा देश तथा विदेशमा भेट र छलफल हुने गरेको प्रचण्डले बताए। ‘मैले जनयुद्धको नेतृत्व गर्दै गर्दा हाम्रो भेट हुँदैनथ्यो भन्ने लाग्या भए त्यो पनि सत्य होइन। सबैभन्दा धेरै अन्तरक्रिया र छलफल हामीबीच नै हुन्थ्यो’, उनले भने, ‘हामीले कहिले देशभित्र र कहिले विदेशमा भूमिगतरूपमै भेटेर लगातार छलफल गर्थ्यौ।’

उनले राष्ट्रिय एकता अभियानको घोषणा गरेका वामदेव गौतमसँग निरन्तर सम्पर्क भइरहेको पनि बताए। हिजो मात्रै फोनमा कुरा भएको उल्लेख गर्दै उनले भने, ‘हिजो वामदेव गौतमसँग फोनवार्ता भएको थियो, मैले सभामा भाषण गर्दै हिँड्नु पर्ने होइन र वामदेव जी भने, उहाँले  छिट्टै आउँछु म पनि भन्नुभएको छ उहाँले मिलाउने प्रयास गरिरहनु भएको छ, हेरौँ के हुन्छ।’

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीको सपथमा यसो भन्छन् बाबुराम