राष्ट्रपतिका कारण गणतन्त्रका लागि लड्नेहरूको शिर निहुरियाे: गगन थापा

गगन थापा

सिन्धुपाल्चाेक। नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधिसभा विघटन सदर भयो भने संविधान अमान्य हुने कुराको सुरुवात हुने बताएका छन्।

शनिबार नेपाली कांग्रेस क्षेत्र नम्बर–२ ले मेलम्चीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नदिएको उल्लेख गरे। ‘‘यो संसद् विघटन मात्र होइन, संविधान विघटनतर्फको यात्रा हो। यसले विस्तारै व्यवस्था लैजान्छ,’’ थापाले भने, ‘‘संविधानसभाबाट संविधान बनाउँदा संविधानमा संसद् विघटनको व्यवस्था राखेनौँ। यो अवस्था मान्य भयो भने यो संविधान अमान्य हुने कुराको सुरुवात हुन्छ।’’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई कांग्रेसले असंवैधानिक भनेको स्मरण गरे। उनले नेपालमा ओलीले भनेजस्तो ‘सेटिङ’को शासन नभई संविधानको शासन रहेको बताए। त्यस्तै, उनले सर्वाेच्च अदालतले सर्वाेच्च हुनुको मान राख्ने विश्वास पनि व्यक्त गरे। राष्ट्रपतिले मान राख्न नसक्दा गणतन्त्रका लागि लड्नेहरूको शिर निहुरिएको भन्दै थापाले अदालतको मानका लागि आफूहरू चिन्तित रहेको बताए।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय नर्स दिवसको शुभकामना