६८ औं विश्व कुष्ठरोग दिवस मनाइँदै

काठमाडौं। आज ६८ औं विश्व कुष्ठरोग दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ। कुष्ठरोगका प्रभावितहरूमाथि हौसलाका साथै उनीहरूको मनोबल बढाउने उद्देश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो।

कतिपय ठाउँहरूमा कुष्टरोगीप्रति नराम्रो दृश्यले हेर्ने, उनिहरूसँग छुट्टै व्यवहार गर्ने जस्ता थुर्पै नकरात्मक प्रवृत्ति छन्। कुष्ठरोगबारे नकारात्मक सोच र सही जानकारीको अभावले रोग लुकाउने र समयमै उपचारको खोजी नगर्ने हुनाले जोखिम बढ्दै गएको अवस्था छ। त्यसकारण कुष्ठरोगका विरुद्ध सर्वसाधारणमा जनचेतना फैलाउने उद्देश्यले आज विभिन्न कार्यक्रम हुँदै छन्।  

नेपालमा सन् २०१० मा कुष्ठरोग निवारण भएको घोषणा गरिएको थियो। प्रति १० हजार जनसङ्ख्यामा १ जनाभन्दा कम रोगी भएको अवस्थालाई रोग निवारण भएको मानिन्छ। तर, कुष्ठरोग निवारणको घोषणा भए पनि नयाँ बिरामी देखिन थालेकाले चुनौती थपिएको छ।

विशेषगरी तराईका १६ जिल्लामा अझै पनि कुष्ठरोगीहरू भेटिन्छन् । डाक्टरका अनुसार सामान्यतया कुष्ठरोग लागेको अवस्थामा शरीरमा नचिलाउने खालको सेतो फुस्रो दाग देखा पर्ने, हातखुट्टामा छुँदा या चिमोट्दा थाहा नहुने तथा शरीरमा कमजोरी महसुस हुँदै जानु कुष्ठरोगका लक्षण हुन।

अन्य सम्बन्धित समाचार:  कोभिड संकटका बेला अक्सिजन अभाव हुन नदिन महावीर पुनका ६ सुझाव