अपाङ्गता भएका व्यक्तिलाई सहयोगी सामग्री वितरण

तनहुँ।  तनहुँ जिल्लाका अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र विकासका लागि स्रोत केन्द्र (रिसेड)ले विभिन्न प्रकारका सहयोगी तथा सरसफाइका सामग्री वितरण गरेको छ। रिसेडले दुई जना अतिअशक्त अपाङ्गता भएका व्यक्तिलाई दिसा–पिसाब गराउन सजिलो हुने ट्वाइलेट चियर, २२ अपाङ्गता भएका महिलालाई स्यानिटरी प्याड, २८ अति तथा पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिलाई विभिन्न साइजका डाइपर र २४ जनालाई सरसफाइका लागि स्यानिटाइजर र दुई जनालाई बैशाखी वितरण गरेको जनाइएकाे छ।

अपाङ्गता भएका व्यक्तिलाई उक्त सामग्री शनिबार राष्ट्रियसभाका सदस्य प्रकाश पन्थ र गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङले वितरण गरेका हुन। सो अवसरमा उनीहरूले रिसेडले कोभिडबाट प्रभावित भएका अपाङ्गता भएका व्यक्तिलाई गरेको सहयोगको प्रशंसा गरे।

ट्वाइलेट चियर पाएका धर्मबहादुर अधिकारीले निरन्तर अरुको सहयोगमा शौच गर्नुपर्दा ज्यादै असजिलो भएकामा अब ट्वाइलेट चियर पाएपछि आफ्नो सरसफाइ तथा स्वास्थ्य अझ राम्रो हुने विश्वास व्यक्त गरे। रिसेडका अध्यक्ष पदम परियारका अनुसार गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालय, राष्ट्रिय अपाङ्ग महासङ्घ, गण्डकी प्रदेश तथा युएनएफपिएको सहयोगमा सो सामग्री वितरण गरिएको हो।

अन्य सम्बन्धित समाचार:  खोपमा भएको भ्रष्टाचार छानविनको रिट सर्वोच्चले गर्यो फिर्ता