प्रधानमन्त्रीले ढल्केबर सबस्टेशनको सोमबार उद्घाटन गर्ने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेसनलाई सोमबार उद्घाटन गर्ने भएका छन्। पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी भएसँगै सोमबार प्रधानमन्त्री ओलीले सबस्टेशनको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलगायतको सहभागिता रहने प्राधिकरणले जनाएको छ।

हाल ढल्केबरमा १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरी ६३५ एमभीएका ट्रान्सफर्मर जडान भएको छ।
सबस्टेसन जीआईएस प्रविधियुक्त स्वचालित सबस्टेसनसमेत हो। सो सबस्टेसन हाल सञ्चालनमा रहेका सबस्टेसनमध्ये सबैभन्दा ठूलो हो। सबस्टेसनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरेर सबै परीक्षण सम्पन्न गरिसकिएको छ।

अन्य सम्बन्धित समाचार:  ओलीले बोलाए एमाले स्थायी कमिटीको आकस्मिक बैठक

प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार सबस्टेसन नेपालकोे उपलब्ध संरचनामध्येको सबैभन्दा ठूलो हो। मुलुकभित्र नै पूर्व–पश्चिम विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका लागि ढल्कबेर सबस्टेसन ठूलो हब बनेको छ।

सबस्टेशन चार्ज भएपछि नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात निर्यातका लागि पूर्वाधार तयार भएको छ। साथै, ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रूपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने छ।