श्री ५ को सरकार भनेकोमा क्षमा चाहन्छुः मन्त्री थापा

काठमाडौं। खानेपानी तथा सरसफाइमन्त्री मणि थापाले सुर्खेतमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा भुलबस श्री ५ को सरकार भनेकोमा माफी मागेका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा ‘नेपाल सरकार’ भन्नुपर्नेमा भुलबस अन्यथा भएको भन्दै त्यसलाई आफूले तत्कालै सच्याएको बताएका हुन्।

मन्त्री थापाले श्री ५ को सरकार भनेपछि उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि मन्त्री थापाले स्पष्टीकरण दिँदै माफी मागेका छन्। मन्त्री थापाले स्पष्टीकरण दिँदै भनेका छन्, ‘शनिबार नेपाल कम्युनिस्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भूलवश अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ। आम नेपाली नागरिक, मेरो शुभचिन्तक र नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु। मेरो पूरै राजनीतिक जीवन, क्रान्ति र परिवर्तनमा बिताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु। भूलवश ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु।’

अन्य सम्बन्धित समाचार:  देशभर थप ८१६७ जनामा कोरोना संक्रमण, १८७ जनाको मृत्यु

मन्त्री थापाले सुर्खेतमा शनिबार आयोजित सभामा नेपाल सरकार भन्नुपर्नेमा श्री ५ को सरकार भनेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले भनेका थिए, ‘सबैलाई सम्मान गर्न चाहन्छु जो मञ्चमा आसीन हुनुहुन्छ। र सुर्खेतका आदरणीय जनसमुदायहरु म सबैलाई नेकपा स्थायी समितिको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट यो कार्यक्रममा ‘ए सरी नेपाल सरकारको तर्फबाट यो कार्यक्रममा तपाईंहरुलाई लाल सलाम भन्न चाहन्छु।’